Logo

उठ्यो महिला खेलाडीमाथि विभेदविरुद्धको एजेण्डा



सन् २०१८ मा रुसमा भएको पुरुष विश्वकप फुटबलको पुरस्कार रकम ४० करोड डलर थियो । सन् फ्रान्समा हालै सम्पन्न २०१९ को महिला विश्वकप फुटबलको पुरस्कार रकम तीन करोड डलर रह्यो । तथ्यांकले महिला विश्वकपको तुलनामा पुरुष विश्वकपको पुरस्कार रकम १३ गुणा बढी देखिन्छ ।

महिलाविरुद्ध यो हदसम्मको विभेदको आवाज उठेपछि सन् २०२३ मा हुने विश्वकपमा पुरस्कार रकम बढाएर ६० करोड डलर पुर्याइने फिफाबाट प्रतिवद्धता आएको छ । सन् २०२२ मा कतार विश्वकपमा पुरस्कार रकम बढ्दा विभेद घटेर १३ बाट १० मा झर्नेछ । तैपनि, विभेद कायमै रहनेछ ।

सँसारभर महिला खेलाडीमाथि विभेद छ । एउटै खेलमा महिलाले पाउने पुरस्कार भन्दा पुरुषले पाउने पुरस्कारको राशी निकै बढी छ । फुटबल खेलमा यो १० गुणाभन्दा बढी छ ।

विश्वकप फुटबल भन्नेवित्तिकै पुरुषको खेल बुझिन्छ । महिला विश्वकप फुटबल बेवास्तामा परेको छ । महिला विश्वकपमा भन्दा पुरुष विश्वपकमा पुरस्कार राशी दश गुणाले बढी छ । प्रायोजकहरु पनि निकै बढी छन् पुरुष विश्वकपमा ।

यसपटक यो एजेण्डा अमेरिकी महिला फुटबल खेलाडीहरुले जोडदार रुपमा उठाए । अमेरिकी खेलाडी मेगान रेपिनोले महिला खेलाडीमाथि हुनेगरेको विभेदविरुद्ध सशक्त आवाज उठाइन् । उनले आफ्नै देशका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रोश पोखिन् । महिलालाई बेवास्ता गरिएको र सुविधा पनि थोरै दिइएको विषय उठाउँदै ह्वाइट हाउसमा भेट्न जान्न सम्म भनिन् । उनको अभिव्यक्तिले अमेरिकामा मात्र नभई विश्वभर हलचल मच्चियो ।

३४ वर्षीया मेगानको यो विश्वकप अन्तिम हुनसक्छ । तर, उनले महिलामाथिको विभेदविरुद्ध कडा आवाज उठाइन् । अमेरिकी फुटबल टोलीले संयुक्त विज्ञप्तिमार्फत् महिलालाई समान तलब र सेवाको माग राखिसकेका छन् । पुरस्कार राशी पनि समान गर्ने गरी कार्य गर्न दबाब सृजना गरेका छन् ।

मेगानको पछिल्लो अभिव्यक्तिले उनलाई चर्चाको चुलीमा मात्र पुर्याएन । अब महिला खेलाडीविरुद्धको विभेदमाथि धक्का पुग्ने भूमिका खेल्यो । अमेरिकाभित्र महिला खेलाडीको आवाजको सुनुवाई गर्न ट्रम्पमाथि दबाब परिसकेको छ । सन् २०१९ को राष्ट्रपति चुनावमा महिलाको मुद्दा सशक्त रुपमा उठ्न सक्छ । यसकारण पनि ट्रम्प सतर्क भइसकेका छन् ।

विश्वभर महिलाको आवाज फेरि बुलन्द हुने माहोल बनेको छ । ”मी टु मुभमेन्ट” भन्दा पनि समान तलब र समान पुरस्कारको मुद्दाले स्थान बनाउने देखिदैछ । यसमा अमेरिकी फुटबल स्टार मेगान रेपिनोलाई जस जान्छ । खेल्न र बोल्न उत्तिकै सिपालु उनलाई कतिपयले भविष्यकी राजनीतिज्ञका रुपमा देख्न थालिसकेका छन् । Photo: The Durango Herald



प्रतिक्रिया दिनुहोस्