काठमाडौं, २५ असार । देशभर अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि अविरल वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा वर्षा हुने जनाएको छ । केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
अविरल वर्षाले नारायण नदीको पश्चिमतर्फ डुबानहरु भइरहेको छ । बाँकेमा भारी वर्षाले डुबान भएको छ । सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण दुई वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
यसैगरी, देशका साना खोलाहरुमा एक्कासी बाढी आउने खतरा औल्याइएको छ । अविरल वर्षाका कारण चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाबाट बहने केही साना खोलाहरुमा एक्कासी बाढी आउनसक्ने बाढी सूचना केन्द्रले जनाएको छ ।
२५ असारको विहान सूचना जारी गर्दै केन्द्रले राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । तस्वीरः मौसम पूर्वानुमान महाशाखा