काठमाडौं, २५ असार । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले तराई, मधेशका जनतामा देशभक्तिको भाव अति धेरै रहेको बताएका छन् । उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई पोखरेलले आग्रह गरे ।
बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि दोहोर्याए । मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।
पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने धारणा राखे । उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ-आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार-विमर्श गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम