Logo

एकातिर सरकारको आलोचना, अर्कोतिर पार्टीभित्र किचलो



असार २९, काठमाण्डौ । एकातिर सरकारको आलोचना, अर्कोतिर पार्टीभित्र किचलो । सत्तारुढ दल नेकपा अहिले सहज स्थितीमा छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्ष नाघिसकेको छ । तर अझै पनि एकता प्रक्रिया टुङ्गो लाग्न सकेको छैन । त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच २०७५ साल ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकीकरणका समयमा घोषणा गरेअनुसार पहल थाल्न नसक्दा एकता प्रक्रियाले अन्तिम रूप लिन सकेको छैन । एकतासँगै गठन भएको सचिवालयले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

हाल रहेको स्थायी कमिटिको बैठक पनि विधानले तोकेको समयावधीमा बस्न सकेको छैन । जसले गर्दा सरकारले गर्ने महत्वपूर्ण विषयमाथि पार्टीभित्र छलफल हुँदैछ । जसले गर्दा सरकारका विवादित निर्णय पार्टीभित्रै आलोचनामा पर्ने गरेको छ । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको वरिष्ठ नेता झलनाथ खनालले बारम्बार भन्दै आएका छन् ।

चुनावमा जनतालाई दिइएको आश्वासन अहिले पूरा भएको छैन । सरकार गम्भीर बन्नुपर्छ । उनले भने ।

अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको नेताहरूले स्वीकार गरेका छन् । पार्टीको भेला, प्रचारप्रसार, प्रशिक्षण तथा महत्वपूर्ण कार्यक्रम शून्य अवस्थामा पुगेका छन् । जसले कार्यकर्तामा चरम निराशा छाएको वरिष्ठ नेता खनालको गुनासो छ ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो । महत्वपूर्ण एवं जटिल काम टुंगो लागे पनि विभाग, स्थानीय तह, पोलिटब्युरो कमिटी तथा केन्द्रीय सदस्यको कार्य विभाजन गर्न सकस भएको छ ।

त्यसैगरी संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचारप्रसार विभाग र आर्थिक विभागमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा शीर्ष नेताबीचमै विवाद छ ।



प्रतिक्रिया दिनुहोस्