काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।
संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।
रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् संघीय संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाईन् ।
उनले रौतहट पूरै डुवानमा परेको सुनाईन् । ‘यस्तो अवस्थामा देश राजनीतिक एजेण्डामा अल्झिनुहुँदैन थियो’–खड्काले भनिन्‘अहिले त उद्धार तथा राहतमा जुट्नुपर्ने बेला हो । तर, हामीले संसदमा आफ्नो कुरा राख्न पाएनौं ।’ उनले बाढि, पहिरोमा परि बेपत्ता भएकाहरुको तदारुकताका साथ खोजि हुनुपर्ने बताईन् ।
अहिले पनि पीडितहरुमा खानादेखि स्वास्थ्यको गम्भिर समस्या रहेको सुनाउँदै त्यसतर्फ सरकारले पर्याप्त ध्यान दिनुपर्ने उनले सुझाईन् । पीडितहरुको उद्धार, राहत तथा पूननिर्माणमा जुट्नको लागि पनि उनले सबैलाई आग्रह गरिन् ।