Logo

मधुरोपुत्र किन निम्त्याइए नेपाल



काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले भेनेजुएला मामलामा विवादास्पद धारणा सार्वजनिक गरेपछिको उत्पन्न राजनीतिक तरंग शान्त हुन नपाउँदै यसैसँग जोडिएर अर्को मामला देखिएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मधुरोका छोरा निकोलस अरनेष्टो मधुरो गुएराको नेपाल भ्रमण चासो र चर्चाको विषय बनेको छ ।

गुएरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको युवा संघको निम्तोमा २८ असारमा नेपाल आए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रभावशाली नेताहरु झलनाथ खनाल र वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग भेटे । नेकपाका नेताहरुसँग अर्थपूर्ण भेट गरेपनि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, सरकारका मन्त्रीहरु भेट्न मानेनन् ।

भेनेजुएला प्रकरणमा जसरी नेकपाको धारणा र सरकारको धारणा फरक थियो अहिले मधुरोपुत्रको भ्रमणमा त्यस्तै भयो । ओली सरकारले भ्रमणलाई व्यक्तिगत जसरी व्यवहार गर्यो । मधुरोपुत्रलाई विमानस्थलबाट ल्याउँदा समेत भीआइपीबाट ल्याउन दिइएन । बरु स्वागत गर्न पुगेका भेनेजुएलाका गैरआवाशीय राजदूतले भीआइपी कक्ष प्रयोग गरेका थिए ।

ओली एकातिर प्रचण्ड अर्कातिर

भेनेजुएलामा सत्तासंघर्ष चलिरहँदा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक मामला र सार्वभौमसत्तामाथि अमेरिकाको हस्तक्षेप भन्दै निन्दा गरेका थिए । प्रचण्डको हस्ताक्षरसहितको प्रेस विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी भेनेजुएलाका जनताको समर्थन भन्दै लोकतान्त्रिक विधिबाट निर्वाचित संवैधानिक राष्ट्रपति निकोलस मधुरोको समर्थन जनाइएको थियो ।

अमेरिकाले भेनेजुएलाको वर्तमान सत्ताप्रति कठोर नीति लिइरहँदा प्रचण्डको विज्ञप्तिले तरंग ल्यायो । सत्तारुढ दलमा समेत भेनेजुएला मामलाले पक्ष विपक्ष जन्मायो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली देखि सरकार पक्षधरहरु फरक तरिकाले प्रस्तुत भए । नेकपाभित्र नै सत्तापक्ष र प्रतिपक्षको झल्को आयो । भेनेजुएला मामलामा ओली एकातर्फ प्रचण्ड अर्कातर्फ जस्तै भए ।

भ्रमणको सन्देश

नेपालसँग खासै नजिकको सम्बन्ध नरहेको र सम्बन्धले खासै अर्थ नराख्ने भएपनि मधुरोपुत्र १५ सदस्यीय जम्बो टोली लिएर नेपाल आए । कम्युनिष्ट सरकार नेपालमा रहेको र सत्तारुढ दलले भेनेजुएलाको वर्तमान सत्तालाई समर्थन गरेकाले भेनेजुएला नेपालप्रति निकै सकारात्मक बनेको छ ।

विश्वका अधिकांश मुलुक र महाशक्ति अमेरिकाले त्यहाँको राजनीतिमा प्रभाव बढाइरहँदा अमेरिका विरोधी पहिचान बनाएका मधुरोका लागि नेपालको सत्तारुढ दलको समर्थन राहत बनेको थियो । त्यसैले मधुरोको सन्देश बोकेर उनका छोरा आफै नेपाल पठाइए ।

नेकपाप्रति धन्यवाद दिन र कम्युनिष्ट सरकार भएको नेपालमा कम्युनिष्ट सांसदसँग भेट गर्न उनी आए । उनको नेपाल आगमन आफैमा सन्देश हो । यसप्रति अमेरिकी सरकारको चासो पक्कै हुनेछ । विगतमा भेनेजुएला मामलामा नेकपाको विज्ञप्तिप्रति समेत अमेरिकाले चासो लिएको थियो ।

ओलीलाई चुनौती

मधुरोपुत्रलाई नेपाल ल्याउन ओलीविरोधी नेकपाका नेता कार्यकर्ता सक्रिय रहे । यसले सरकारलाई अप्ठ्यारो पार्न सक्छ । सरकार मधुरोपुत्रको भ्रमणलाई व्यक्तिगत भन्दै पन्छिएको छ । तर, सत्तारुढ दलको भातृसंगठनको निम्तोमा आएका उनले अध्यक्ष प्रचण्डलगायत वरिष्ठ नेताहरुलाई भेटेपछि नेकपा अमेरिकाविरोधी बनेको सन्देश प्रवाह भएको छ ।

इन्डोप्यासिफिक रणनीति अन्र्तगत नेपाल अमेरिकाको चासोमा परेर उच्चस्तरीय राजनीतिक भेटघाट समेत भइसक्दा भेनेजुएला मामलामा सत्तारुढ दलको शैलीले सत्तारुढ दलभित्र अमेरिका मामलामा पक्ष विपक्षको शैली देखिएको छ । प्रचण्डले ओलीलाई कुटनीतिक क्षेत्रमा असजिलोमा पार्ने गतिविधि त गरेका होइनन् ? यो विश्लेषण समेत भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्