रिपोर्टर्स नेपाल, २ साउन । २०७२ सालको महाभूकम्पका कारण देशमा झण्डै नौ हजार मानिसको मृत्यु भयो । २२ हजार घाइते भएको घटना नेपालको इतिहासकै कालो दिन बन्यो । ७.८ म्याग्निट्युडको भूकम्पले देशमा ठूलो जनधनको क्षति पछि पनि ठूला पराकम्पहरु आइरहे । मानिसहरु त्रसित भए । तर, देश विस्तारै सामान्य अवस्थामा फर्कियो ।
भूकम्पको त्रास हराउँदै गयो । देशमा भूकम्पको धक्का महशुश गर्ने क्रम चलिरहेपनि ठूला म्याग्निट्युडको भूकम्पको धक्का पर्न छाडेको छ । स—साना धक्का महशुश भएपनि मानिसहरुले ठूलो भूकम्पले ल्याएको त्रास बिर्सेका छन् ।
महाभूकम्पपछि पनि देशमा भूकम्प र पराकम्प आउने क्रम चलिनै रहेको छ । २०७२ साल अर्थात् सन् २०१५ मा महाभूकम्पपछि भूकम्प र पराकम्प आइनै रहेको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार सन् २०१५ मा महाभूकम्पपछि कुल चार सय १९ पटक चार रेक्टर स्कलेभन्दा माथिको भूकम्प र पराकम्प आएको थियो ।
सन् २०१५ मा कुल चार सय २६ पटक भूकम्प आएको तथ्यांक छ । त्यसपछि भूकम्प र पराकम्प घट्दै गएको देखिन्छ । सन् २०१६ मा ६५ पटक भूकम्प आयो ।
२०१७ मा घटेर चार म्याग्निट्युडमाथिको भूकम्पको धक्का २७ पटक मात्र महशुश भयो । २०१८ मा २८ पटक भूकम्पको धक्का महशुश भयो ।
यस वर्ष अर्थात् सन् २०१९ मा २६ पटक चार म्याग्निट्युड माथिको भूकम्पको धक्का महशुश गरिएको छ । वर्षको मध्यमात्र भएकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी भूकम्प जाने सम्भावना देखिन्छ ।
महाभूकम्पपछि मध्यपहाडी क्षेत्रमा बढी भूकम्प र पराकम्प गएको देखिन्छ । पछिल्लो वर्षहरुमा पश्चिम नेपालमा पनि भूकम्प जाने क्रम बढिरहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार भूकम्पको केन्द्रबिन्दु फरक देखिएको छ । तर, केही जिल्लाहरुमा बढी केन्द्रित रहेर भूकम्प जाने क्रम चलिरहेको छ । Photo: ResearchGate
वर्ष भूकम्प/पराकम्प संख्या
२०१५ ४२७
२०१६ ६५
२०१७ २७
२०१८ २८
२०१९ २६
कुल ५७३
स्रोतः राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रको वेवसाइट