काठमाडौं, २ साउन । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ११ वर्षपछि हुन लागेको जापान उडानलाई रोक्न आफै लागेको खुलासा भएको छ । काठमाडौं ओसाका उडान भर्ने सम्झौता भइसक्दा उडानका लागि तोकिएका नेपाल एयरलाइन्सका आधिकारिक प्रतिनिधि देवमान हिराचनलाई हटाउँदा जापानको इन्टर एभियशन रुष्ट भएको छ ।
इन्टर एभिएसन जापानका कनाको तमुराले नेपाल एयरलाइन्सका टी.एन. दाहाललाई पत्र लेखी हिराचनलाई प्रतिनिधिबाट हटाएमा तोकिएको मितिमा उडान हुन नसक्ने चेतावनीयुत्त पत्र पठाएका छन् । हिराचनलाई प्रतितिधि तोकिइसकेको अवस्थामा उनीहरुलाई प्रतिनिधिबाट हटाए गम्भीर समस्या आउनसक्ने चेतावनी समेत पत्रमार्फत दिईएको छ ।
नयाँ व्यक्तिलाई प्रतिनिधि नियुक्त गर्दा कार्य शुरु गर्नुभन्दा अघि सुरक्षासम्बन्धि प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उडान हुने नहुनेसम्मको विषय उल्लेख गरेको छ । जापानको सुरक्षासम्बन्धि प्रक्रिया पूरा गर्न निकै कठिन हुन्छ ।
जापान सरकार समेत रुष्ट हुनेगरी नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले व्यक्तिगत स्वार्थमा अर्को व्यक्तिलाई नियुक्ति दिन खोज्दा राष्ट्रिय ध्वजावाहक वायुसेवाको प्रतिष्ठामै आँच पुग्ने खतरा पुगेको छ । सुरक्षा संवेदनशीलता समेत भुलेर स्वार्थ लाद्न खोज्दा खरेल विवादमा परेका छन् । जापानले कस्लाई प्रतिनिधि नियुक्ति गर्न लागेको ? भनी प्रश्न समेत गरेको छ ।
त्यतिमात्रै होईन, आईएजेले एप्लिकेशन सर्भिसको लागि हिराचनसँग कन्ट्रयाक्ट गरेको जनाएको छ । उसले आफूहरुले उक्त सेवाको लागि सन्तोष र नेपाल वायु सेवा निगमसँग कुनै सम्झौता नगरेको पनि स्पष्ट पारेको छ । हिराचनलाई उक्त जिम्मेवारीबाट हटाईए आईएजे र एन.एसीबीचको एप्किेशन सर्भिसपनि रद्द गरिने र अहिलेबाट नै आफूहरुले कुनै काम नगर्ने ईन्टर एभिएशन जापानको चेतावनी छ ।
वाइड बडीले पर्याप्त गन्तव्य नपाउँदा जापान उडानले राहत मिल्ने अवस्थाबीच खरेलको व्यक्तिगत स्वार्थका कारण चालेको कदमलाई लिएर जापान सरकारले समेत गम्भीरता देखाएको हो । खरेलको स्वार्थले नेपाल एयरलाइन्सको वाइडबडीलाई सुनको अण्डा पार्ने कुखुरा बनाउनुपर्नेमा सुत्ने मत्ता हात्ती बनाएका छन् ।