Logo

जन्मकैद पाएका भारतीय ‘डोसा किङ’को मृत्यु



काठमाडौ, साउन २ । विश्वभरि शाखा रहेको भारतीय रेस्टुराँ कम्पनी सरवण भवनका मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको छ।

आफ्नै एक कर्मचारीको हत्या गरेको आरोपमा उनलाई भारतको सर्वोच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो।

जुलाई ९ मा उनले अदालतमा आत्मसमर्पण गरेका थिए। जेलमा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको थियो।

आफ्नै एक कर्मचारीकी श्रीमतीलाई मन पराएपछि उनलाई पाउन राजगोपालले ती कर्मचारीको हत्या गरेका थिए।सरवण भवन लोकप्रिय रेस्टुराँ हो। त्यसका विश्वभरि ८० वटा शाखाहरू छन् र त्यहाँ हजारौँ मानिसहरू काम गर्छन्।

जेल सजायबाट उन्मुक्ति पाउन सन् २००९ यता उनले कानुनी लडाइँ लडिरहेका थिए। तर स्वास्थ्यको कारण देखाउँदै उनले दायर गरेको अन्तिम अपिललाई अदालतले अस्वीकार गरेको थियो।

उनका रेस्टुराँमा ब्रिक्री गरिने दक्षिण भारतीय परिकार डोसा लोकप्रिय बनेपछि उनलाई ुडोसा किङु उपनाम दिइएको थियो। सरवण भवनका शाखाहरू न्यूयोर्क, लन्डन र सिड्नीमा पनि छन्।

ज्योतिषीको सल्लाहमा राजगोपालले ती महिलासँग बिहे गर्ने अड्डी कसेका थिए भन्ने बताइन्छ।सन् २००३ मा ती महिलालाई आर्थिक प्रलोभन देखाएको, उनको परिवारका सदस्यहरूलाई धम्काएको र भाइलाई आक्रमण गरेको प्रकरणमा उनी जोडिएका थिए।

सन् २००१ मा आफ्ना श्रीमान् बेपत्ता भएपछि ती महिलाले राजगोपालविरुद्ध प्रहरीमा उजुरी दायर गरेकी थिइन्। पछि उनको श्रीमान्‌को शव जङ्गलमा फेला परेको थियो र प्रहरीले घाँटी थिचेर उनको हत्या गरिएको पुष्टि गरेको थियो।

सन् २००४ मा एउटा स्थानीय अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाएको थियो तर चेन्नईस्थित उच्च अदालतले त्यसलाई बढाएर आजीवन जेल सजायका बनाएको थियो।मार्चमा भारतको सर्वोच्च अदालतले चेन्नईको अदालतको फैसलालाई सदर गरेको थियो।

स्वास्थ्यको कारण देखाउँदै गरेको अन्तिम अपिल अदालतले अस्वीकार गरेपछि उनले चेन्नईस्थित अदालतमा आत्मसमर्पण गरेका थिए।बीबीसी



प्रतिक्रिया दिनुहोस्