काठमाडौं, साउन ३ । बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
११ जना घाइते छन् । क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो।
दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए।
बोगटी जिपका चालक हुन्। चालकसहित १५ जना सवार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । यीमध्ये ४ जनाको अवस्था गम्भीर छ।
डीएसपी सिंहका अनुसार, गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ। अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ। कमजोर सडक संरचनाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान भए पनि खुलिनसकेको डीएसपी सिंहले जानकारी दिए।