Logo

सार्वजनिक जग्गा मिच्ने ठूलो माछालाई सरकारले छाड्दैन : ईश्वर पोखरेल



साउन ४, काठमाण्डौ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् ।

शनिबार काठमाडौं वडा नं. ५ र ७ जोड्ने गरी पैदलयात्रीका लागि निर्माण गरिएको पहँँेलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई आग्रहसमेत गरे ।

सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकार चुप लागेर नबस्ने उनको भनाइ छ ।

‘सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भए पनि त्यसलाई सरकारले कार्बाही गरेरै छाड्छ ।’ उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडासँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दाबी गरे ।

उनले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दाबी गर्दै चालू आर्थिक वर्षभित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

काठमाडौं ५ (क) का सांसद नारायण सिलवालले काठमाडौं क्षेत्र नं. ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गरी स्थानीय सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश निर्वाचन क्षेत्र विकास कोषको बजेट पनि सम्पदा पुनर्निर्माणको काममा खर्च गर्ने योजना सुनाए ।

प्रदेश ३ सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पुल वरपरका सम्पदाहरुको पुनर्निर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रदेश सांसद सिलवालले योजना सुनाए ।

काठमाडौं वडा नं. ५ र ७ जोड्ने भत्केको पुलमा सवारी र यात्रुको चाप बढेसँगै त्यही पुलसँग जोडेर छुट्टै फलामे पुल निर्माण गरिएको हो । प्रदेश सरकारको परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त पुल ४९ लाख रुपैयाँको लागतमा बनेको हो ।

२३ चैत २०७५ मा प्रदेश सांसद नारायण सिलवालले पुलको शिलान्याश गरेका थिए । ‘पुल निर्माणको काम निर्धारित समयभित्रै सक्न सांसदज्यूले छड्के जाँचसमेत गर्नुभयो,’ सांसद सिलवालका स्वकीय सचिव लक्ष्मण शर्माले भने, ‘आफ्नै पहलमा अघि बढेका विकासका योजनामा कुनै पनि खालको बाहानाबाजी र ढिलासुस्ती नहोस् भन्ने मान्यता उहाँको छ ।’

प्रदेश सांसद सिलवालको विशेष पहलमा काठमाडौंं–५ अन्तर्गत धनगणेश मन्दिर, गोरखनाथ मठ सतल, मनमानेश्वरी मन्दिर, कुमार कार्तिके मन्दिर, द्योछें सतलको पुनर्निर्माण तथा धेविखोला कोरिडोर र सडक बत्ती निर्माणको काम अन्तिम चरणमा पुगेको शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्