साउन १०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले आफैँले गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई नै दुव्र्यवहार गरेकी छिन् ।
आज नागरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई उपमेयर रसाइलीले दुव्र्यवहार गरेकी हुन् ।
पत्रकार सम्मेलनमा उपस्थित पत्रकारलाई रसाइलीले अभद्र, अमर्यादित र अपमानजनक लाञ्छना लगाएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जनाएको छ । शाखाले घटनालगत्तै विज्ञप्ति निकालेर उपमेयरको व्यवहारले सिङ्गो पत्रकार जगत नै दुखी भएको उल्लेख गरेको छ ।
ढुंगा, गिटीका सन्दर्भमा यसअघि सार्वजनिक भएका समाचारप्रति आक्रोषित उपमेयर रसाइलीले नियोजित ढंगले नै पत्रकारमाथि हातपात र दुव्र्यवहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अध्यक्ष ओमकार आचार्य र सचिव उज्जल पौडेलद्वारा जारी विज्ञप्तिमार्फत अभद्र र अमर्यादित क्रियाकलाप तत्काल सच्याउन नगरपालिकालाको ध्यानाकर्षणसमेत गराएको छ ।
पत्रकारसम्मेलनमा उपस्थित पत्रकार अमरराज नहर्कीले त ज्यान बचाउन सफल भइयो भन्दै फेसबुकमा स्टाटस राखेका छन् ।
नहर्कीले लेखेका छन्–“झण्डै डेढ दशक लामो मेरो पत्रकारिता यात्रामा यति ठुलो जोखिम पहिलो पटक व्यहोरियो । ”
तनहुँकै पत्रकार बसन्त कँडेलले पनि फेसबुकमा स्टाटस राख्दै आपत्ती प्रकट गरेका छन् ।
कँडेलले लेखेका छन्–“विडम्वना, पत्रकार यो देशका सबैभन्दा ठूला शत्रु भएका छन् । भ्रष्टाचारी, घुसखोर, अपराधी, गुण्डा, तस्कर, चुल्ठे, मुन्द्रे, कामचोर, झोले, चाकडी, चाप्लुसीबाज, नेता, उपनेता, छाँयानेताहरुको बिगबिगी र साम्राज्य चलेको यो देशमा पत्रकार र पत्रकारिता उनीहरुका लागि सबैभन्दा ठूला शत्रु र बाधक बनेका छन् ।”
शुक्लागण्डकी नगरपालिकामा तथाकथित जनप्रतिनिधीहरुले पत्रकारहरुमाथि गरेको कुकृत्य त्यसैको चरम उदाहरण भएको कँडेलको ठहर छ ।
साथै उनले कटाक्ष गर्दै काण्डैकाण्ड र लुटतन्त्रको शासन चलेकोले पत्रकार र पत्रकारितालाई पूर्ण बन्देज लगाउन आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा उप—प्रमुख सविता रसाइलीसँगै सहभागी भएका युवाहरुले पत्रकारमाथि हातपात र दुव्र्यवहार गरिएको थियो । पत्रकारहरुलाई सुरक्षाकर्मीले थप आक्रमणबाट हुनु जोगाएका थिए ।