Logo

नेपालले कहिले विश्वकप फुटबल खेल्ला ?



समाचार विश्लेषण । विश्वकप फुटबलमा नेपालले हालसम्म छनोट हुन सकेको छैन । एशियाली देशहरुको छनोट चरणमा नेपालको लक्ष्य विश्वकपमा छनोट हुने भन्दा फुटबलका क्षेत्रीय शक्तिबाट कम गोल खाने रणनीति हुन्छ । यसपटक पनि नेपालको त्यही लक्ष्य देखिन्छ । अष्ट्रेलिया र कुवेतजस्तो देशहरुसँग नेपालले डटेर सामना गर्नुपर्ने चुनौती छ ।

फिफा वरियतामा १६६ औं स्थानमा रहेको नेपालभन्दा वरियतामा माथि रहेको दक्षिण एशियाली देश भारत पनि विश्वकपमा छनोट हुन सकेको छैन । विश्वकपमा छनोट हुन प्रयासरत छ । अन्य दक्षिण एशियाली देशहरुको अवस्था झन् कमजोर छ ।

 

नेपालले विश्वकप छनोटमा कम गोल खाने संघर्ष गर्नुमै गर्व गर्नुपर्ने इतिहास छ । एशियाका बलिया फुटबल शक्तिहरुसँग नेपालले दर्जनभन्दा बढी गोल खाएको तीतो इतिहास पनि छ । त्यसैले चार स्वतः र एक प्ले अफ पाउने एशियामा जापान, इरान, दक्षिण कोरिया, साउदी अरेबिया, चीन, कुवेतलगायतका फुटबल शक्तिहरुलाई पराजित गरेर छनोट हुने फलामको च्युरा चपाउनु जस्तै छ ।


यसपटक नेपालले पहिलो चरण खेल्नुपरेन । फिफा वरियताको स्थानका आधारमा नेपालले दोस्रो चरणका लागि वाई पाएको हो । अब यसै वर्ष हुने छनोटमा नेपालले गर्ने प्रदर्शनले अन्तिम चरणमा पुग्ने सम्भावना टुंगिनेछ ।

बलिया देशसँग प्रतिष्पर्धा
नेपालका लागि विश्वकपको एशियाली समूहतर्फ दोस्रो चरण निकै चुनौतीपूर्ण छ । कतार विश्वकप फुटबल २०२२ को छनोटको प्रारम्भिक चरणमा नेपाल समूह बीमा परेको छ । नेपालसँगै अष्ट्रेलिया, जोर्डन, ताइवान, कुवेत समूह बीमा छन् ।

१ साउनमा मलेशियाको राजधानी क्वालालाम्पुरमा भएको गोलाप्रथाबाट एशिया प्यासिफिक क्षेत्रको छनोटका लागि समूह विभाजन गर्दा नेपाल समूह बी मा परेको हो । नेपालसँग समूह बी मा परेका अष्ट्रेलिया र कुवेत विश्वकप खेलिसकेका देश हुन् । दुवै देशसँग स्टार खेलाडीहरुको बाहुल्य छ ।

विश्वकप खेलिसकेका देशहरुको अनुभवसामु नेपाललाई कठिन चुनौती छ । समूहमा परेकामध्ये नेपालको समूहमा परेको जोर्डन गत विश्वकप छनोटको प्ले अफमा पराजित भई पहिलोपटक विश्वकप खेल्ने अवसरबाट वञ्चित भयो । नेपाल र ताइवानले विश्वकप खेलेका छैनन् । अनुभवी टोलीसँगको प्रतिष्पर्धा चुनौतीपूर्ण छ ।

समूह विभाजनमा समूह बीको अन्तमा नेपालको नाम छ । फिफा वरियतामा आफ्नो समूहमा नेपाल पुछारमा छ ।
दोस्रो चरणको छनोटपछि १२ देशले अन्तिम चरणको प्रतिष्पर्धामा भाग लिनेछन् । यो चरण पार गर्न सकेमात्र पनि नेपलाका लागि ऐनिहासिक सफलता हुनेछ ।

यसरी हुनेछ छनोट
फिफा वरियतामा एशियाभित्र ३४ औं स्थानसम्म पर्ने देशहरु सिधै वाइ पाएर दोस्रो चरणमा प्रवेश गरेका हुन् । नेपाल एशियाली देशहरु मध्यबाट फिफा वरियतामा ३४ औं स्थानमा पर्दछ । त्यसैले वाइ पाउन सफल भयो ।


विश्वकप छनोटको दोस्रो चरणको छनोटमा ४० देश सहभागी छन् । प्रत्येक समूहमा पाँच देश रहेकोमा समूह विजेताले अन्तिम छनोट प्रतिष्पर्धामा सहभागी हुन पाउनेछ । कतार आयोजक भई छनोट भइसकेकाले सात समूह विजेता र पाँच उपविजेता अन्तिम चरणको प्रतिष्पर्धामा होमिनेछन् ।

अन्तिम चरणमा एशियाबाट चार देशले सिधै छनोट हुन पाउनेछन् । बाँकी एक टोलीले दक्षिण अमेरिकाबाट प्ले अफका लागि छानिने टोलीसँग प्ले अफ मयाच खेल्नुपर्नेछ ।
कतार समूह चरणमा हुनुमा यो ड्र सन् २०२३ मा हुने एशिया कपको छनोट पनि भएकाले हो । एशिया कपमा सबै समूहका विजेता र उपविजेता गरी १६ देश सिधै छनोट हुनेछन् । Photo: Footcricnepal



प्रतिक्रिया दिनुहोस्