Logo

पोखरी र ढुंगेधारा मासिदै, आकाशे पानी खेर जाँदै



साउन १२, काठमाण्डौ । वर्षायाममा पर्ने पानीको विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । निकै महत्वपूर्ण मानिने आकाशे पानी संकलनप्रति भने कसैले पनि चासो दिएको पाइदैन । सबैखाले प्रयोगका लागि आकाशे पानी उचित हुन्छ । तर यसको सदुपयोग भने हुन सकेको छैन ।

काठमाण्डौ उपत्यकामा सधैँभरी पानीको अभाव भइरहन्छ । देशका अधिकांश क्षेत्रमा पनि वर्षभरी नै पानीको अभाव हुने गरेको छ । भएका खोला नदी वा पानीको स्रोतको प्रयोग हुन सकेको छैन ।

पानीको अभाव अन्त्यका लागि आकाशबाट पर्ने पानी संकलन एउटा उपाय हो । तर वर्षायाममा पर्ने पानी खेर गइरहेको छ । नीतिगत रुपमा नै सरकारले केही पनि योजना ल्याउन सकेको छैन । सर्वसाधारणलाई त आकाशे पानी कसरी संकलन गर्ने भन्ने ज्ञानको पनि अभाव छ ।

तर सरकारले यसतर्फ ध्यान दिएको छैन । पानी संकलन र संरक्षणका लागि पूर्वाधार पनि छैन । उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले आकाशे पानी संरक्षणका लागि सरकारले पहल गर्ने आश्वासन दिएका छन् ।

अहिले राजकुलो, पोखरी र ढुङ्गेधाराहरु मासिएका छन् । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको एक अध्ययन अनुसार काठमाण्डौ उपत्यकामा रहेका २ सय ३३ पोखरीहरुमध्ये १ सय ९३ वटा पोखरी मात्र स्थलगत रुपमा भेटिएका छन् । ४० वटा पोखरीहरु लोप नै भैसकेका छन् ।

यसैगरी काठमाण्डौ उपत्यकाभित्र ५ सय ७३ वटा ढुङ्गेधारा रहेकोमा ४ सय ७९ वटा मात्र भेटिएका छन् । ५२ वटा ढुङ्गेधारा मासिएका छन् । जसले गर्दा पानीको अभाव बढ्दै गएको छ । यो अभाव कम गर्नका लागि आकाशे पानीको प्रयोग गर्नुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् । जनसंख्या बढ्दै जाँदा पानीको अभाव थप चुलिने भएकाले आकाशे पानीलाई राम्रो विकल्पका रुपमा लिन सकेन पूर्वाधार विज्ञ किशोर थापाको तर्क छ ।

पहिला पहिला काठमाण्डौ उपत्यकामा मात्र होइन, गाउँबस्तीमा पनि आकाशे पानी पोखरीमा जम्मा गर्ने चलन थियो । वर्षाको पानी जमिनमा रिजार्च गराउने वा संकलन गर्ने परम्परागत विधिहरु अहिले पनि उत्तिकै प्रभावकारी हुन सक्छ । तर अहिले शहरमा बनाइएका संरचनाहरु कंक्रिटका कारण आकाशबाट परेको पानी जमिनले सोस्न पाउँदैन ।

त्यसैले भल बनेर सडकमा बग्न थाल्छ र नदीहरुमा बाढी नै आउँछ । आकाशे पानीको सदुपयोग गर्न सक्ने हो भने जति फाइदा हुन्छ, ठिक विपरित अहिले विनाश भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्