काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक तथा प्रतिनिधिसभाका सदस्य महेन्द्र राय यादवले नेपालमा वैकल्पिक शक्तिको आवश्यकत्ता भएकोले नै आफूहरु विचार र सिद्धान्त मिल्ने शक्ति र राजनीतिक दलहरुसँग एकता गर्ने तयारीमा रहेको सुनाएका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।
यसअघि आफूहरुले ६ पार्टीको एकता गरेर राजपा नेपाल बनाएको सुनाउँदै यादवले त्यतिवेला पनि देश र जनताको आवश्यकत्तालाई आत्मसात गरिएको जिकिर गरे । उनले ६ पार्टीबीचको एकताको लागि कुनैपनि बाहृय शक्तिको दबाब नरहेको दाबी गरे । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाल र राजपाबीच पार्टी एकता गर्न जनता र कार्यकर्ता दुवै तयार रहेको पनि उनले सुनाए । ६ जनै अध्यक्ष मण्डलका सदस्यहरुले एकताको लागि एकमतले निर्ण गरिसकेकोले कुरा मिल्नेपनि उनले विश्वास दिलाए । एकताको लागि वार्ता समिति गठन गरेर काम भैरहेको यादवले जनाए । उनले भने,”सबै तहबाट आ-आफ्ना् तवरले एकताको लागि गृहकार्य गरिरहनुभएको छ । हाम्रो मुद्दा मिलिरहेको छ ।”