Logo

काङ्ग्रेसमा महाधिवेशन केन्द्रित छलफल, सहमति गर्न सुझाव



काठमाडौं, १४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन् । गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

बैठकमा आजसम्म करीब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा व्यक्त गरिसकको छन् । सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिनुभएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए । करीब डेढ वर्षपछि १४ औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको उनले बताए ।

बैठकमा बुधबारदेखि विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक साउन १५ गते दिउँसो ३ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्