चीनको आर्थिक वृद्धिको झलक खेलकुदमा पनि देखिनथालेको छ । फुटबलमा विश्वकै महङ्गा खेलाडी किनेर त्यहाँका क्लबहरुले दैनिक करोडभन्दा बढी तलब दिइरहेका छन् । अब टेनिसमा पनि त्यस्तै किर्तिमानी खर्च गर्न थालेको छ ।
चीनमा आयोजना हुने डब्लुटीए टेनिसमा विजेताले मात्र ४७ लाख ५० हजार डलर अर्थात् ५२ करोड नेपाली रुपैयाँ बराबर हुनआउँछ । सेन्जेनमा आयोजना हुने टेनिस प्रतियोगितामा उक्त पुरस्कार रकम राखिएपछि विश्वकै ध्यान खिचिएको छ । यो महिलाले खेल्ने कुनैपनि खेलकुद प्रतियोगितामा हालसम्मकै सर्वाधिक पुरस्कार राशी हो ।
हालैमात्र विश्वकप विजेता अमेरिकी महिला टिमले पनि ४० लाख डलर राशी मात्र प्राप्त गरेका थिए । पुरस्कार राशी घोषणालगत्तै टेनिस खेलाडीहरु नै आश्चर्यमा परेका छन् । घोषणासँगै चीनले ठूलो खेलकुद प्रतियोगितालाई प्रभावशाली बनाउने आक्रामक रणनीति लिएबो बुझ्न सकिन्छ ।
सँसारभर महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार राशी हुनुपर्ने आवाज उठिरहँदा चीनले किर्तिमानी पुरस्कार राशी घोषणा गरेको हो । एजेन्सी