Logo

भारतको तिव्र आर्थिक विकासबाट नेपालले लाभ लिन सक्छ–भाजपा नेता चौथाइवाले



ललितपुर । भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले भारतको तिव्र आर्थिक विकासबाट नेपालले लाभ लिनसक्ने बताएका छन् । १७ साउनमा होटल हिमायलमा आयोजित कार्यक्रममा बोल्दै भारतको विकास नेपालका लागि पनि लाभदायक हुने बताएका हुन् ।

‘भारत र नेपालबीचको सम्बन्ध पृथक र विशेष छ,’ नेपाल भारत सम्बन्धः वर्तमान अवस्थामा आशा र चुनौती विषयक कार्यक्रममा चौथाइवालेले भने,‘भारतले गरिरहेको तिव्र विकासबाट नेपालले लाभ लिनसक्छ ।’ नेपाल भारतसम्बन्धका बहुपक्षबारे वर्णन गर्दै ऐतिहासिक निकटता र सम्बन्धले एकको प्रभाव अर्कोमा पर्ने बताए । भारतले गरिरहेको विकास नेपालका लागि पनि फाइदाजनक हुने विश्वास व्यक्त गरे ।

भारत सधै नेपालको विकास र उन्नतिको पक्षमा भएको बताए । नेपालको विकास र समृद्धिका लागि भारत सधै सहयोगी हुँदै आएको चर्चा गर्दै भने,‘भारत नेपालको विकासमा सहयोग गर्न तयार छ ।’

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा अर्थतन्त्रमा व्यापक रुपान्तरण भएको चर्चा गरे । भारत विश्वकै प्रमुख अर्थतन्त्र भएका मुलुकमा पुगेको र अबका दिनमा अझ अगाडि बढ्ने प्रक्षेपणले देखाएको बताए । भारतसँग सबैभन्दा निकट सम्बन्ध रहेको नेपालले भारतको आर्थिक विकासबाट लाभ लिने विषयमा समेत उनले चर्चा गरे ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरी सहभागी थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले पनि दुई देशको सम्बन्धबाट एक अर्काले लिनसक्ने लाभका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्व अर्थमन्त्री डा.रामशरण महत, पूर्वमन्त्री हिसिला यमीलगायत विशिष्ट अतिथिहरु सहभागी थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्