Logo

यस्तो पो कामः २१३ मिटर बाटो बनाउनुपर्नेमा ३३३ मिटर बनाइयो



ललितपुर । कामभन्दा कुरा बढी ! यो नेपालमा निकै चलेको उखान हो । तर, कुराभन्दा काम बढी ! यो पनि हुनथालेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को चारघरेमा बाटो निर्माणमा कुराभन्दा धेरै काम भयो । सडक निर्माणमा बजेटले भ्याउने तोकिएको लम्बाईभन्दा ५६ प्रतिशत बढी काम सम्पन्न भएको छ । त्यो पनि मात्र ५१ दिनमा ।

प्रदेशको बजेटबाट विनियोजित ५० लाख रकममा आकस्मिक व्यय कटाएर आएको ४७ लाखबाट ३३३ मिटर बाटोमा दुवैतर्फ पर्खाल निर्माण गरे । १०६ मिटर कुलो बनाउनुपर्ने योजना रहेकोमा १६० मिटर बनाए । बाटोको खाल्डाखुल्डीसमेत पुरेर योजनाभन्दा ५६ प्रतिशत बढी काम भएपछि जिल्लाभर यसको चर्चा भएको छ ।


उपभोक्ता समितिले बनाएको ८ मिटर चौडा सडकबारे अध्यक्ष हरिशरण प्रचण्ड खड्काले सबैको साथ र सहयोग मिलेकाले दत्तचित्त भई काम गरिएको बताए । इच्छाशक्ति भए धेरैभन्दा धेरै विकासका काम गर्न सकिने उनले बताए । कोषाध्यक्ष नारायण खड्काका अनुसार अनुसार ५१ दिनभित्र बाटो निर्माण पूरा गरिएको बताए । काम छिटो र योजनाभन्दा बढी गर्न सकिंदा आफूहरुले आश्चर्यमा परेको बताए । काम छिटो छरितो र राम्रोसँग सम्पन्न भएपछि उपभोक्ता समितिले सबैठाउँबाट वाही वाही पाएको छ ।


ललितपुर क्षेत्र नम्बर २ का सांसद कृष्णलाल श्रेष्ठले जनप्रतिनिधि र उपभोक्ता मिलेर काम गर्न सके विकासले फड्को मार्ने बताए । बाटोको अवलोकन गर्दै उनले इमान्दारितापूर्वक काम गर्ने उपभोक्ता समितिको प्रशंशा गरे ।


प्रदेश सांसद माधवप्रसाद पौडेलले चारघरेको सडक उदाहरणीय भएकाले यसले सबैलाई पाठ सिकाएको बताए । देशमा इमान्दारिता भएमा जस्तोसुकै काम राम्रोसँग सम्पन्न गर्न सकिने बताए । उनले यस वर्ष राम्रसँग काम गरेकाले आगामी वर्ष पनि बजेट निकासा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले राम्रो काम गर्नेलाई आफूले जहिले पनि सहयोग गर्ने बताए । महालक्ष्मी नगरपालिकाले भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको भन्दै उपभोक्ताले पनि जागरुकता देखाउन थालेकोमा खुशी व्यक्त गरे । सबै मिलेर नगरलाई सुन्दर र उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।


महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापाले विकासका उपभोगकर्ताको भूमिकाले पूर्वाधार निर्माण्मा धेरै असर पर्ने बताइन् । नगरपालिकाले आगामी दिनमा सबै क्षेत्रको सर्वांगिण विकासमा सक्रियता देखाउने बताइन् । चारघरेको बाटो निर्माणबाट सबैले सिक्नुपर्ने बताइन् ।

वडाध्यक्ष विश्वराज श्रेष्ठले वडाको विकासमा आफू सधै प्रतिवद्ध भएर लागेको र जनताको पनि साथ पाइरहेको बताए । जनताको घरदैलोमा पुगेर विकासनिर्माणबारे चासो र चिन्ता लिइरहेको भन्दै वडाको मुहार फेरिदै गएको बताए । उनले वडामा छुट्याइएको बजेटबारे प्रकाश पारे ।

उपभोक्ता समितिकी उपाध्यक्ष रेणु खड्काले बजेट विनियोजन गरिदिने सबैलाई धन्यवादज्ञापन गरिन् ।
उपभोक्ताको काम र बाटो अवलोकन कार्यक्रममा कार्यक्रममा वडा सदस्यहरु अनिल श्रेष्ठ, अम्बिका श्रेष्ठ, आशिष केसीका अलावा नगरपालिकाका कर्मचारी, इञ्जिनियर, स्थानीय बासिन्दा तथा समाजसेवीहरुको ठूलो संख्यामा उपस्थिति थियो । तस्वीरः रिपोर्टर्स नेपाल डट कम



प्रतिक्रिया दिनुहोस्