काठमाडौं, १८ साउन । अनाथ बालबालिकाहरुको शिक्षा–दिक्षा र बसोबासका निम्ति सेवक नेपाल नामक सामाजिक संस्थाले काभ्रेको मण्डन देउपुरमा आफ्नै भवन निर्माण गर्ने भएको छ । संस्था पाँचौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै संस्थाका पदाधिकारीहरुले यसबारेमा जानकारी दिएका हुन् ।
साथै भवन निर्माण लागि अनुमानित ५ करोड रुपैयाँ आवश्यक भएको र त्यसका लागि दाताहरुसँग अनुरोध पनि गरिएको छ । अनुमानित ५ करोडमध्ये अहिलेसम्म २७ लाख हराहारीमा सहयोग रकम प्राप्त भएको छ ।
संस्थालाई अगाडि बढाउनका लागि विशेषतः नेपालबाट दक्षिण कोरियामा रोजगारीमा गएका नेपालीहरुले विशेषः सहयोग गरेका छन् । संस्थामा विगत दिनमा दक्षिण कोरियामा रोजगारीका लागि गएका नेपाली तथा वर्तमानमा पनि दक्षिण कोरियामा रहेर रोजगारी गरिरहेका नेपालीहरुको बाहुल्यता रहेको छ । त्यस्तै खाडी मुलुकहरुमा रोजगारीमा जाने मजदुरदेखि नेपालमै रहेका विभिन्न समाजिक कार्यहरुमा सक्रिय सर्वसाधारणहरुले पनि यस अभियानमा साथ दिएका छन् ।
समारोहमा उपस्थित अतिथिहरुले समाजसेवाका निम्ति गरिने खर्च पारदर्शी बनाउनुपर्ने र अनाथ बालबालिकाहरुलाई अनाथालयमा राख्नुअघि उनीहरुको व्यवस्थापनमा लाग्ने खर्चको व्यवस्थापन आफ्नै उत्पादनबाटै पु¥याउने गरी सोच्नुपर्ने र सोही अनुसार व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित समाजसेवी लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतमले सेवक नेपाललाई बालबालिका राख्नुअघि उनीहरुको लापनपालन र दिशा–दिक्षाका निम्ति कसैको मुख ताक्नुपर्ने अवस्था आउन नदिन आग्रह गरेका थिए । त्यस्तै, उनले उत्पादनको क्षेत्रमा आफैं लाग्न समेत सुझाव दिएका छन ।
सेवक नेपाललाई पनि निःस्वार्थ रुपमा सामाजिक काममा लाग्न आग्रह गर्दै उनले सरकारले सामाजिक क्षेत्रका काम गर्ने अभियन्ताहरुलाई निकै दुःख दिने गरेको बताउँदै लक्ष्मी प्रतिष्ठान संस्था नवीकरणका लागि आफूले ३० हजार रुपैयाँ घुस खुवाउनुपरेको दुःखदायी क्षणको समेत स्मरण गरे ।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले सेवक नेपालले गरेको सामाजिक कार्यको खुलेर प्रसंशा गर्दै सो संस्थाले काभ्रेको मन्डन देउपुरमा निर्माण गर्ने तयारीमा रहेका अनाथलय भवनका लागि सहयोग गर्ने अभियन्ताहरुप्रति आभार व्यक्त गर्दै सो अभियानमा सबैको साथ र सहयोगका निम्ति आग्रह गरेको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र अभियानलाई अझ विस्तार गर्ने तयारी समेत गरेको छ । अधिवेशनको उद्घाटन सत्रको सञ्चालन काशीनाग रिमाल र अध्यक्षता सेवक नेपालकी अध्यक्ष गंगादेवी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।