काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई पद छाड्न दबाब परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद बहाली गरेको केही दिनमै उनलाई हटाउन दबाब सृजना गरेका हुन् ।
मन्त्री भट्टराईले खरेलबाट निगम चल्न नसक्ने निष्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउने तयारी गरेको बुझिएको छ । ओली सिंगापुरबाट फर्किएलगत्तै खरेललाई राजीनामा दिन लगाउने या बर्खास्त गर्ने तयारी अनुसार भट्टराईले कदम चाल्ने भएका हुन् ।
२० साउनमा निगमका कार्यकारी अध्यक्ष खरेलसहित उच्च पदस्थ अधिकारीसँगको छलफलमा घुमाउरो भाषामा पदबाट हट्न भनेका छन् । खरेलको उमेर र विषय उठाउँदै घरमै आराम गरेर बसेको भए हुन्थ्यो भनेको खुलेको छ । उनले भने,‘यो उमेरमा घरमै आराम गरेको भए त यस्तो तनाव लिनुपर्दैन थियो होला ।’
निगमले सरकारसँग मागेको २० अर्ब रुपैयाँ मिलाउन निकै कठिन भएको बताए । यसका लागि प्रधानमन्त्री ओली तयार नभइरहेको खुलाउँदै यु टर्न गर्नुपर्ने बताए । निगम निकै जटिल अवस्थामा पुगेको भन्दै कोही पनि भाग्न नपाउने बताए ।
कार्यकारी अध्यक्ष मदन खरेलले विमान खरिदका लागि योजनासहित प्रधानमन्त्री ओलीसमक्ष विवरण पेश गरेको खुलासा समेत भएको छ । वाइडवडीले नै पर्याप्त उडान भर्न नपाइरहेको अवस्थामा खरेल थप विमान खरिदमा सक्रिय भएका छन् । जापान उडान उनकै कार्यशैलीका कारण अलपत्र परेको छ । भट्टराईको हातमा निगम व्यवस्थापनको कामकाज र विवादास्पद भूमिकाको रिपोर्ट पुगिसकेको छ । यसबारे उनले जानकारहरुसँग छलफल समेत गरेका छन् ।
खरेलबाट निगम नचल्ने निष्कर्षमा पुगेका उनले विधिसम्मत् तरिकाले हटाउने या राजीनामा दिन लगाउने तयारी गरेको उनी निकटस्थले रिपोर्टर्स नेपाल डट कमलाई बताएका छन् । निगमको अहिलेको टिम नै विवादमा परेको र झन् संकटमा पुर्याउन सक्रिय भएको प्रमाण भट्टराईसँग पुगेको छ ।
मन्त्री भट्टराईले खरेललाई निगममा ल्याउनमा हवाई माफियाको डिजाइन भएको तथ्य समेत भेटेको बुझिएको छ । नेपाल वायुसेवा निगमलाई संकटमा पुगेको देखाएर विदेशी साझेदार भित्राउन हवाई माफियाको योजना अनुसार खरेलले काम गरिरहेका छन् । निगमभित्र सोही योजना पूरा गर्न महत्वपूर्ण पदमा हवाई माफियाले भनेअनुसारका मान्छेलाई जिम्मेवारी दिएका छन् । यसले निगमभित्र असन्तुष्टि व्यापक बढिरहेको छ ।