साउन २१, काठमाण्डौ । सत्तारुढ दल नेकपाको पार्टी कार्यालय अवैध रुपमा संचालन भएको आशंका उब्जिएसँगै अनेक प्रश्न उठ्न थालेको छ । कुनै एक संस्थालाई भोगाधिकार दिएको भवन वा जग्गा भाडामा लगाइएको विषय पेचिलो बन्दै गएको छ ।
यस विषयमा प्रतिपक्षी दलले संसदमा पनि प्रश्न उठाएको छ । पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुमबराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गा नेकपालाई पार्टी कार्यालय संचालन गर्न दिएको छ ।
नियमअनुसार भोगाधिकार पाएको संस्थाले भाडामा लगाउन पाउँदैन । यो विषय प्रतिष्ठान र नेकपाका लागि टाउको दुखाईको विषय बनेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी जग्गा भोगाधिकार र लिज सम्बन्धी कार्यनीति उलंघन गर्दे नेकपाले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यसबारे सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमो सुन्य समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले नेकपाले कानुन मिचेर पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।
त्यसैगरी कांग्रेसकै सांसद उमा रेग्मीले विशेष समयमा बोल्दै सरकारी जग्गा भोगाधिकार र लिज सम्बन्धी कार्यनीति उलंघन गर्दे सत्तारुढ दल नेकपाले सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी कार्यालय संञ्चालन गरेको भन्दै त्यसबारे सदनलाई सत्य तथ्य जानकारी गराउन माग गर्नुभयो । सरकारी जग्गा कब्जा गरि सरकार नै स्वयंम् नियम कानुन मिचेर अघि बढेको भन्दै उहाँले त्यसबारेको सत्य तथ्य सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुमबराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गा नेकपालाई पार्टी कार्यालय संचालन गर्न दिएको छ ।
सरकारबाट भोगाधिकार पाएको जग्गा तेश्रो पक्षलाई भाडामा दिन नपाउने कानुनी व्यवस्था विपरित नेकपाले प्रतिष्ठानसंग सम्झौता गरेर मासिक भाडा तिर्दै आएको भन्दै कांग्रेसले कानुन कार्यान्वयनमा सचेत हुन सरकारको ध्यानाकर्षण गराएको हो । प्रतिष्ठानलाई सरकारले २०६३ मंसिर २१ गते भोगाधिकारका लागि सो जग्गा उपलब्ध गराएको थियो ।