काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने भएको छ । केन्द्रीय प्रसारण लाइनको अभावमा जुम्लामा हाल सञ्चालनमा रहेको एक लघु जलविद्युत् आयोजना बन्द भएका कारण स्थानीयवासी प्रभावित भएका छन् ।
जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा विद्युत् सेवा नभएका कारण जनजीवन प्रभावित भएको भन्दै यही साउन २१ गते मङ्गलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
जनप्रतिनिधिले उठाएको प्रश्नको आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जुम्लामा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पु¥याउने प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएका हुन ।
सङ्घीय संसद्मा जनप्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिँदैनन् भन्ने गुनासो पनि यदाकदा सुनिने गरिन्छ तर, मन्त्री पुनले सांसद महतले उठाएको प्रश्नलाई नै केन्द्रमा राखेर आज सदनमा जवाफ दिएका थिए । पुनले भने, “सदनमा उठेका विषयलाई सम्बोधन गर्ने सरकारको दायित्व हो ।” उनले भने, “जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको छ ।”
संसद्को शून्य तथा विशेष समयमा उठेका प्रश्न र चासोलाई सम्बोधन गर्ने प्रयास शुरु भएको भन्दै सांसदहरुले मन्त्री पुनको प्रशंसासमेत गरेका थिए । प्राधिकरणले जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र सार्वजनिक गरी ठेक्का सम्झौता गरिसकेको छ । सांसद महतले जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र प्राधिकरणले विद्युत् बिक्रीका लागि प्रयास नगरेको बताएका थिए ।
राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायीरुपमा कालीगण्डकी जलविद्युत् आयोजनाको ३०० केभीए क्षमताको डिजेल जेनेरेटर जुम्ला लैजान आवश्यक प्रक्रिया शुरु गरिएको मन्त्री पुनको भनाइ छ । रासस