काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन् । दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको २४ साउनमा काठमाडौंमा बिमोचन गर्दै उनले अहिले आफूलाई हिस्रक मान्छेको रुपमा चित्रण गर्ने गरेको भन्दै असन्तुष्टि पनि जनाए ।
अध्यक्ष दाहालले माओवादी विद्रोहको नेतृत्वको गर्ने अवसर आफूलाई प्राप्त भएपनि आफू हिंसात्मक गतिविधिमा भने संलग्न नभएको बताएका हुन् । उनले भने–‘म त्यस्तो बिद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन् कसैको एक लपेटो खाएको पनि छैन,’ अध्यक्ष दाहालको भनाई थियो,‘ तर मेरो हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरुलाई पत्याउन गाह्रो भईरहेको छ ।’
अध्यक्ष दाहालले आफूले माओवादी विद्रोहको नेतृत्वमात्रै नगरी त्यसलाई शान्ति प्रक्रियामा ल्याउन सफल नेताको परिचय बनाएको पनि बताएका छन् । माओवादी विद्रोहको नैतिक जिम्मेवारी भने आफैले लिने दाहालले बताए ।
दाहालले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको पनि बताए । दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिए । हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत पूरा भएकाले जनतामा देखिएको आशा र निराशा दुवैलाई आत्मसात् गरेर आफूहरु अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाज रुपान्तरण गर्ने शक्तिशाली औजारका रुपमा साहित्य रहेको बताए । उनले कम्युनिष्ट आन्दोलनले वर्तमान समयको समस्यालाई बोधगरी सुन्दर भविष्यको परिकल्पना गर्न लाग्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले ठूला सपना देखाएर साना काम पनि नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने र देशलाई प्रयोगथलो बनाउन नहुनेमा जोड दिए ।
वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार माधवप्रसाद पोखरेल, प्रा राजेन्द्र सुवेदी, तेजेश्वरबाबु ग्वङ्ग, डा बेञ्जु शर्मालगायतले कृतिका लागि शर्मालाई र पत्रिकाका निम्ति प्रतिष्ठानलाई शुभकामना दिएका थिए । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले साहित्य र राजनीतिलाई अन्तरघुलन बनाएर जानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।