काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारसँग काम गर्नको लागि सुवर्ण अवसर भएपनि यसले मौका खेर फालेको आरोप लगाए । उनले भने,‘यो सरकारले जनताको आशालाई पूरै निराशामा परिणत गरेको छ । सरकार अत्यन्तै भ्रष्ट भयो ।’ सरकारले कुनैपनि उल्लेखनीय काम गर्न नसकेको पनि उनले आरोप लगाए । सरकार गठन भएको १८ महिना बितिसक्दापनि परीणाम भने शुन्य आएको जबराले बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको पनि उनले सुनाए । उनले भने,‘हामीले व्यापार घाटा झेलेको वर्षौं भैसक्यो । व्यापार घाटाझैं अब त भुक्तानी घाटा पनि पुगेको छ । यो मामुली कुरा होईन् । नेपालको व्यापार घाटा बजेट जत्रो छ । अहिले निर्यातको १४ गुणा बढि आयात हुन्छ । भुक्तानी घाटा ६८.२ अर्ब पुगेको छ। विदेशी मुद्रा संचितिबाट अब पाँच महिनामात्रै पुग्ने अवस्था छ । अब २ महिनामा झर्यो भने हामी पाकिस्तानको अवस्थामा पुग्छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले मुलुकमा यत्रा ठूला–ठूला संकट हुँदाहुँदैपनि वर्तमान सरकारलाई केही हेक्का नहुनु दुःखद् भएको पनि उनको टिप्पणी छ । सरकारले वित्तिय अनुशासनमा ध्यानै नदिएको पनि उनको आरोप छ । त्यस्तै, राष्ट्र बैंकले पनि आई.एम.एफको सल्लाह नसुनेको उनको आरोप छ । राष्ट्र बैंकले मुद्रा प्रदाय बढाएर झन आयातलाई बढाउने निम्तो दिईरहेको पनि उनको आरोप छ ।
एक दशकअघि नेपालको उद्योगको योगदान कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत रहेकोमा अहिले त्यो घटेर ५ प्रतिशतमा झरेको पनि उनले सुनाए । उनले भने,‘उद्योगपति र सरकारबीच अविश्वासको वातावरण छ । निजी क्षेत्रमैत्री नभईकन कुनैपनि देशले विकास गरेको छैन् ।’
उनले साधारणतय यो सबै अवस्थाबाट पार पाउनको लागि विजुली विक्रि गर्ने र विकास बढाउने भएपनि अहिले त्यो अवस्था नरहेको जिकिर गरे । उनले भने,‘हिन्दूस्तानको कोइलाबाट उत्पादित विजुलीभन्दा हाम्रो विजुली धेरै महँगो छ । हाल हिन्दूस्तानले आफूलाई चाहिने विजुली आफैं उत्पादन गर्ने स्थितिमा पुगेको छ । यदि त्यहाँ बजार लिने भए उनीहरुसित मिलेर अघि बढ्नुपर्छ ।’ नेपालको संविधानमा मुलुकको समाजवादउन्मुख लोकतन्त्र भएिको सुनाउँदै जबराले नेकपाको विधानमा त झन साम्यवाद नै लक्ष्य राखिएको सुनाए ।
उनले भने,‘यस्तो परिप्रेक्ष्यमा कसरी वैदेशिक लगानी आउन सक्छ ? सरकार विदेशी लगानी भित्र्याउने भनेर ठूलो ठूलो कुरा गर्छ ? तर मूल बाधा अड्चन कहाँ छ भनेर यसले बुझेको छैन् ?’ उनले विदेशी लगानी ल्याउने कुरामा संविधानमै अड्चन भएको आरोप लगाए ।
फरक प्रसँगमा उनले भारतले जम्मु काश्मिरको सवालमा हालै चालेको कदम उसको आन्तरिक मामिला भएकोले त्यसप्रति आफूहरुको कुनै धारणा नै नरहेको स्पष्ट पारे । उनले भने,‘सरकारले पनि यसप्रति भारतको आन्तरिक मामिला भनेको छ । हामी पनि त्यही भन्छौं । यो हिन्दुस्तानको मामिला हो ।’