Logo

सवारी दुर्घटनाको कहर, कसले गर्ने नियन्त्रण ?



साउन २५, काठमाण्डौ । सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । तर यही सडढकको यात्रा जोखिमपूर्ण छ । सडक यात्रा गर्दा कुन बेला दुर्घटनामा परिने हो भन्ने त्रास छ ।

सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनाका जोखिम न्यून गर्ने चुनौती पनि थपिँदै गएको छ । बढ्दो दुर्घटनाले हाम्रा सडक र राजमार्गहरू असुरक्षित छन् भन्ने देखिएको छ । दुर्घटनाका पछाडि केही न केही कारण अवश्य हुन्छन् ।

प्रायजसो ट्राफिक प्रहरीले सडकको अवस्था र चालकको लापरबाहीलाई दुर्घटनाको कारण मान्छन् भने चालक र व्यवसायी सरकारी नीतिलाई दोष दिन्छन् । लामो दुरीमा दुर्घटना हुनुमा सडकको अवस्था मुख्य कारण भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दावी गर्छन । उनले सरकारले चालकलाई दिइने अनुमतिपत्र वैज्ञानिक ढंगबाट नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । दुर्घटनमा परी घाइते भएकाको आफन्तलाई जति पीडा अरु कसलाई होला र ? शनिवार काठमाण्डौको ट्रमा सेन्टरमा पुग्दा शुक्रबारको दुर्घटनामा परी उपचार गराइरहेका विरामीहरु गुनासो गर्दै थिए ।

बढ्दो दुर्घटना न्युनिकरण गर्नका लागि कुनै पनि पक्ष जिम्मेवार बन्न सकेका छैनन् । व्यवसायीले सरकारलाई विभिन्न आरोप लगाउँछन् भने सरकारले व्यवासयी जिम्मेवार बन्न नसकेको आरोप लगाउँदै आएको छ । सडकमै समस्या हुँदा दुर्घटना नियन्त्रण हुन नसकेको सप्तकोशी यातायात प्रालिका अध्यक्ष नारायण भट्टराई बताएँछन् ।

धादिङ जिल्लामा पर्ने सडक खण्डको छेवैमा त्रिशुली बगिरहेको छ । लामो दुरीका सवारी साधन बेलाबेलामा यही त्रिशुलीमा खस्ने गरेका छन् । यस सडक खण्डमा पछिल्लो एक वर्षमा १ सय ४४ वटा दुर्घटना भइसकेका छन् । जसमा ९५ जनाले ज्यान गुमाएका छन् । यसरी दुर्घटना हुने र नागरिकले ज्यान गुमाउने विषयमा यातायात व्यवसायी र सरकार दुवै पक्ष गम्भीर बन्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्