काठमाडौं । अबैध लागूऔषध सहित युवाहरु ठूलो संख्यामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमध्ये कोही घरको कोठामा त कोही गेष्ट हाउसमा भेटिएका हुन् ।
क्राउ पर्नेमा द्रागिरि नगरपालिका थानकोट बस्ने पूर्णदास गोपाली सहित पाँच जना छन् । उनीहरुको साथबाट लागूऔषध फेनारगन १२ एम्पुल, डाईजोपाम १३ एम्पुल र नुरफिन १२ एम्पुल परेको हो । २५ साउनको दिउँसो प्रहरीले पक्राउ गरेका पूर्णदास गोपालीको साथबाट नगद ९२ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १४ कलंकीस्थित रिजन गेष्ट हाउसमा जाँच गर्दा लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
अनुसन्धान गर्ने क्रममा निज गोपालीका साथीहरु बा.१ ज ७८७७ नम्बरका ट्याक्सी चालक ललितपुर बखुण्डोल बस्ने तनहुँ दमौली घर भएका जिवन राणा र नख्खु बस्ने नवलपरासी रजहर घर भएका नौमाया मगरलाई लागूऔषध नुरफिन ७० एम्पुल, डाईजोपाम ७० एम्पुल र फेनरागन ७० एम्पुल सहित सानेपाबाट पक्राउ गरेको हो ।
साथै ललितपुर महानगरपालिक ११ बखुण्डोलमा रहेको जिवन राणाको कोठाबाट थप लागूऔषध फेनारागन २ सय ५ एम्पुल, नुरफिन १ सय ४३ एम्पुल, डाईजोपाम १ सय ७३ एम्पुल, १ तोलाको सुनको सिक्रि एक थान, ३.५ तोलाको सुनको औंठी एक थान, चाँदीको चेन चार तोला र नगद २ लाख ७९ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
त्यसौगरी, ईटहरी उपमहानगरपालिका४ धरान लाईनस्थित कोशी राजमार्गबाट कैलाली धनगढी उपमहानगरपालिका २ घर भएका नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरीमा सेनानी पदमा कार्यरत अजित प्रसाद सिंह र सुनसरी रामधुनी नगरपालिका १ बस्ने प्रमोद कुमार चौधरीलाई १ ग्राम ३ सय २० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित २५ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगर लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।