Logo

चीन र भारत मिल्दा नेपालमा के होला



समाचार विश्लेषण । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्रीमा एस जयशंकरलाई चयन गर्नु सामान्य घटना थिएन । भारतीय जनता पार्टीभित्र दीग्गज विदेश मामला जानकारहरुलाई पन्छाएर पूर्व विदेश सचिवको चयन महत्वपूर्ण निर्णय थियो । भारतको स्वार्थमा काम गर्न सक्ने कुशल कुटनीतिज्ञलाई मोदीले महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।

जयशंकर विदेशमन्त्री भएपछि पहिलो विदेश भ्रमण चीनबाट शुरु गर्नुमा भारतको चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखिएको सन्देश हो । चीनको राजदूतको अनुभव सँगालेका जयशंकरलाई मोदीले चीन पठाउँदा दोस्रो कार्यकालमा मन्त्रीहरुमध्येबाट पहिलो विदेश भ्रमण बन्यो चीन । त्यसमाथि चीन पुगेर जयशंकरले विश्वमा अन्यौल भइरहँदा समेत भारत र चीनबीचको सम्बन्ध स्थिरता कायम राख्ने महत्वपूर्ण कारक बन्नुपर्ने अभिव्यक्ति दिए ।

एशियाका दुई सभ्यताका उद्गमस्थल भारत र चीनबीचको सामिप्यता मोदी कार्यकालबाट बढेको हो । सि जिङपिङ सिधै गुजरात पुगी नरेन्द्र मोदीसँग सावरमती नदी छेउ बसेर भेटवार्ता गरेको इतिहास साक्षी छ । त्यसरी नै मोदी चीन पुगी सि जिङपिङको गृहक्षेत्र पुगेर भेटवार्ता गरेका थिए । भारत र चीनबीचको सामिप्यता र सम्बन्ध यति घनिष्ट बनिसकेको छ कि छिमेक मामलामा पनि एकले अर्कामाथि खासै दबाब दिन छाडिसकेका छन् ।

दुई शक्तिबीचको नेपाल
नेपाल चीन र भारतबीचमा अवस्थित भूपरिवेष्ठित मुलुक हो । अझ यथार्थमा भन्नुपर्दा भारतवेष्ठित देश हो । डा. बाबुराम भट्टराईले पिएचडी शोधपत्रमा नेपाललाई इन्डियालक्ड भनेका छन् । भूगोलको यथार्थलाई मनन गर्ने हो भने नेपालका लागि भारत निकै महत्वपूर्ण देश हो । सामरिक स्वार्थका लागि बलिया देशहरुले जतिसुकै भूमिका देखाउन खोजेपनि नेपालका लागि भारत अपरिहार्य मार्ग बनेको छ । जसलाई परिवर्तन गर्न भूगोलको परिवर्तनबाहेकबाट सम्भव छैन । यही यथार्थलाई मनन नगर्दा नेपालको राजनीतिक नेतृत्व बेला बेलामा असफल नीति अख्तियार गर्न पुग्दछ ।

भारतलाई घुर्काउन चीनतर्फ लाग्ने र चीनलाई घुर्काउन भारततर्फ लाग्ने अथवा दुवैलाई घुर्की देखाउन पश्चिमा देशहरुसँग निकटता बढाउने रणनीति बनाउनेहरु नभएका होइनन् । तर, वर्तमानमा भारतकार्ड या चाइनाकार्ड भुत्ते सावित हुन्छ । चीन र भारतको निकटता र दुवै देश आफ्नो फाइदाका लागि मिल्ने गरेको यथार्थ जगजाहेर छ । यस्तो अवस्थामा भारतविरुद्ध चाइनाकार्ड र चीनविरुद्ध भारतकार्डको औचित्य नरहने भइसकेको छ । त्यसैले, देशको बाडगोर सम्हाल्नेले चीन र भारत निकै सुदृढ सम्बन्ध बनाएर बढिसहेको र एक अर्काविरुद्धको काड झन् प्रत्युत्पादक हुनसक्छ । यो यथार्थलाई नबुझी रणनीति बनाउन खोजे नेतृत्व असफल भइहाल्छ देशले पनि सास्ती भोग्छ ।



प्रतिक्रिया दिनुहोस्