काठमाडौं, ३० साउन । शारिरीक समस्याका कारण शल्यक्रिया चुनौतीपूर्ण भएका मुत्ररोगीहरुको उपचार अब शल्यक्रिया बिना नेपालमै पहिलोपटक नेपाल मेडिसिटीमा शुरु भएको छ ।
ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजीष्टहरुले नेपालमै पहिलो पटक प्रोष्टेट आर्टरी इम्बोलाइजेसन सम्भव गरेको छ । नेपाल बाहिरका थुप्रै अस्पतालमा शल्यक्रियाको विकल्पका रुपमा प्रचलित यस पद्धतिबाट ७५ वर्षीय पुरुष नेपालमै पहिलोपटक लाभान्वित भएका छन् ।
प्रोष्टेट ग्रन्थीलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी प्रोष्टेटलाई निष्किृय पार्ने यो पद्धतीलाई प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन भनिन्छ । मंगलबार करिब १ घण्टा लगाएर गरिएको यो प्रक्रिया पश्चात बुधबार बिरामीलाई डिस्चार्ज गर्न समेत सफल भएको असपतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.ओम बिजु पन्तले जानकारी गराए ।
उनकाअनुसार विदेशमा धेरै अभ्यास गरिने प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन नेपालमा पहिलो पटक सम्भव भएको हो । बेनाइन् प्रोष्टेटिक हाइपरप्लासीया अर्थात प्रोष्टेट ग्रन्थी बढ्ने समस्या भएका व्यक्तिलाई अपनाइएको यो पद्धतिले कम्मर र तीघ्रा बिचको भागमा सानो प्वाल बनाइ प्रोष्टेट ग्रन्थीमा रक्तसञ्चार रोक्ने काम गर्दछ ।