काठमाण्डौ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हाँडीगाउँमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार हाँडीगाउँ–५ मा भएको हाँडीगाउँको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन तथा विकासका लागि आयोजित कार्यशाला गोष्ठिमा प्रमुख शाक्याले सम्पदाको संरक्षण गर्न महानगर प्रतिबद्ध रहेको बताएका हुन् ।
‘हाँडीगाउँ पुरानो ऐतिहासिक बस्ती हो’ प्रमुख शाक्यले भने, ‘स्थानीय, प्रेदेश र केन्द्र सरकार मिलेर संरक्षण गर्नुपर्छ ।’ निर्माणधीन सम्पदाको काम यहि आर्थिक वर्ष भित्र सम्पन्न गर्ने समेत उनले बताए । पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै प्रमुख शाक्यले हाँडीगाउँको प्रचार प्रसारमा जोड दिन सबैलाई आग्रह गरे ।
प्रदेश सांसद नारायण सिलवालले हाँडीगाउँलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताए । ‘हाँडीगाउँ सम्पदा, संस्कृति र कलामा धनी छ’ सांसद सिलवालले भने, यो क्षेत्रलाई पर्यटकीय गन्तव्यमा विकास गर्नुपर्छ ।’
सम्पदा निर्माणको काम यहि आर्थिक वर्षमा सकिने समेत उनले बताए । ‘केही सम्पदाको निर्माणको काम सकिएको छ’ उनले भने, एकिकृत गुरुयोजना बनाएर हाँडीगाउँलाई समृद्ध बनाउनुपर्छ ।’ सार्वजनिक सम्पत्तिको संरक्षणमा जुट्न समेत सांसद सिलवालले स्थानीयलाई आग्रह गरे ।
सांसद सिलवालको पहलमै काठमाडौं ५ अन्तर्गत गोरखनाथ मठ सतल, मन मानेश्वरी मन्दिर कुमार कात्तिके मन्दिर द्योछें सतल र धन गणेश मन्दिरको काम भइरहेको छ ।
कार्यक्रममा प्रा.डा. यज्ञनाथ आचार्य र प्रा.डा. सुदर्शनराज तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए । आचार्यले ‘हाँडीगाउँ सम्पदा, संरक्षण र विकास’ शीर्षकको आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, तिवारीले पर्यटनको विकासका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठिमा पर्यटन व्यवसायी, समाजसेवी, स्थानीयको पनि सहभागिता थियो । हाँडीगाउँ क्षेत्रमा भाटभटेनी, मनमानेश्वरी, टुँडालदेवी, मनमानेश्वरी, लिच्छवीकालीन सत्यनारायण, धनगणेश लगायतका थुप्रै ऐतिहासिक–पुरातात्विक महत्वका सम्पदाहरू रहेका छन् । सो क्षेत्रमा विषेश जात्रा समेत लाग्ने गरेको छ ।