काठमाण्डौ । सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
संघीय राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । सितापाईला –रामकोट –भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुदै बौद्ध जाने लगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै कांग्रेस सांसद कृष्णगोपाल श्रेष्ठले समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएको बारे सदनमा आवाज उठाउदा पनि सम्बोधन नभएको उल्लेख गर्दे शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराए ।
सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विश्व विद्यालयका पदाधिकारी राजनीतिक नियुक्ति बाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
राजपाका सांसद अमृता अग्रहरीले गिरिश चन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक प्रतिवद्धता जाहेर गरेर पनि अहिले सम्म सार्वजनिक नभएको भन्दै असन्तुष्टी व्यक्त गरे ।
समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के का लागि आयो भनी प्रश्न गरे ।
संसद जनताको आवाज बोल्ने थलो हो । सांसदहरुले बारम्बार समस्या समाधानका लागि आवज उठाउने गरेका छन् । तर सरकारले खासै चासो दिएको पाइँदैन ।