Logo

नेपाल–भारत संयुक्त आयोग बैठक आज, भारतीय विदेशमन्त्री नेपाल आउँदै



काठमाडौं ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा। सुब्रह्मण्यम जयशङ्कर आज नेपाल आउने भएका छन् ।

बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त रुपमा अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ ।पाँचौं बैठकमा प्रबुद्ध समूह (ईपीजी) ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ ।

बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन बुझ्न र कार्यान्वयन तहमा अघि बढ्नसमेत समकक्षी जयशंकरसँग कुरा राखिने मन्त्री ज्ञवालीले बताए । प्रबुद्ध समूहले एक वर्षअघि तयार गरेको प्रतिवेदन भारत सरकारले अझैसम्म नबुझ्दा यसको कार्यान्वयन ‘अर्थहीन’ बनेको छ ।

मन्त्री ज्ञवालीका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरावलोकन गर्ने छ । नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्