Logo

प्रधानमन्त्री सिंगापुर जाँदै, किन दिए ‘मरिहालोस्’ भन्नेलाई सिंहदरबारबाट चुनौती



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाँदैछन् । सिंगापुरबाट फर्किएको १० दिनपछिको अर्को यात्रा हो यो । ओली फेरि स्वास्थ्योपचारका लागि सिंगापुर जाँदैछन् ।

१८ साउनमा सिंगापुर गएका उनी सिंगापुरस्थित अस्पतालमा चेकजाँचका लागि बसे । तोकिएको मितिभन्दा बढी समय बसेर फर्किए । उनको स्वास्थ्यबारे देशभित्र निकै चासो बढ्यो । ओलीले स्वदेश फर्किएलगत्तै आफू स्वस्थ भएको ट्वीट गरेका थिए ।

स्वस्थ भएको ट्वीट गरेपनि उनी पुनः उपचारका लागि सिंगापुर जाँदैछन् । उनले देशवासीलाई स्वास्थ्य अवस्थाबारे ट्वीटमा ढाँटेको भन्दै आलोचना समेत भयो । चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे विज्ञप्तिमार्फत् स्पष्ट पार्नुपर्ने तर्क गरेका छन् । उनले भने, देशको प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाबारे देशवासीलाई स्पष्ट जानकारी गराउनुपर्छ ।

ओली सिंगापुर गएर मृगौलाको उपचार गर्नेछन् । १२ वर्ष अघि भारतको एपालो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका उनको पुनः मृगौला प्रत्यारोपणको चर्चा समेत चल्दैछ । यसबारे उनी र उनका निजी चिकित्सकले कुनै स्पष्ट पारेका छैनन् ।

ओलीले सिंगापुर जानुअघि ४ भदौमा कडा अभिव्यक्ति दिए । सिंहदरबारभित्र आयोजित संविधान दिवस आयोजना तयारीको मूल समारोह समितिको कार्यक्रममा आफूलाई मरोस् भन्नेहरु भएको अभिव्यक्ति दिए । उनले आफू सिंगापुरबाट स्वस्थ भएर फर्कने र अर्को चुनावमा समेत विजयी हुने दाबी गरे । विरोधीतर्फ संकेत गर्दै भने, ”अर्को चुनावका लागि तयार रहनु ।”

प्रधानमन्त्री ओलीको अभिव्यक्ति सामान्य खालको थिएन । यसमा उनको आक्रोश र चिन्ता दुवै मिसिएको थियो । ओलीको यो अभिव्यक्तिसँगै उनको स्वास्थ्य अवस्थाबारे झ्न टिकाटिप्पणी बढेको छ ।



प्रतिक्रिया दिनुहोस्