काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानुअघि सिंहदरबार र बालुवाटारभित्र कडा व्यवहार देखाए । सिंहदरबारभित्र आक्रोश र बालुवाटारभित्र धम्की दिए । त्यो पनि आफ्नैलाई ।
प्रधामन्त्रीले ४ भदौमा सिंहदरबारमा दिएको अभिव्यक्ति धेरैलाई आश्चर्य पार्ने खालको थियो । संविधान दिवसको तयारी मूल समारोह समितिको कार्यक्रममा उनले आफूलाई मरिहालोस् भन्नेहरु भएको अभिव्यक्ति दिए । कसैको पनि नाम र पहिचान नखुलाई उनले मरिहालोस् भन्नेहरुलाई चुनावका लागि तयार रहन भने । चुनावमा गतिलो जवाफ दिने भन्दै आफू बलियो रहेको सन्देश दिन खोजे ।
आक्रोशपूर्ण अभिव्यक्ति सुन्दा सरकारका उच्च अधिकारीहरु मुखामुख गरेका थिए । सिंहदरबार परिसरभित्र प्रधानमन्त्री ओलीको आक्रोश कतिपय आफ्नै दलका नेता र विपक्षीप्रति लक्षित थियो । उनको स्वास्थ्यवस्थाबारे टिकाटिप्पणी भइरहँदा उनले आक्रोश पोखे ।
सिंहदरबारमा आक्रोश देखाएको भोलिपल्ट ५ भदौमा ओली झन् कडा रुपमा प्रस्तुत भए । पार्टी सचिवालय बैठकमा उनी वरिष्ठ नेता माधवकुमार नेपालसँग झर्किएका थिए । कुनैबेला माधव नेपालसँग सुमधुर सम्बन्ध बनाएका र उनकै गुटमा रहेका उनले स्वास्थ्यलाभको शुभकामना पनि लिन मानेनन् । सचिवालय बैठकमा वरियतामा घटुवा गरी चौंथो स्थानमा पुर्याइएकोबारे विषय उठाएपछि ओली कड्किएका थिए । उनले आफू अध्यक्ष भएको र विधान अनुसार चल्ने भनेका थिए ।
नेता माधव नेपाल कडा रुपमा प्रस्तुत भएपछि ओली झन् कडा बने । उनले विधानभन्दा बाहिर गएर कुनै काम नगर्ने भन्दै सकेको गर्न चेतावनी दिएको बुझिएको छ । ओलीले सिंगापुर जाने दुई दिन आक्रोश र धम्की दिएपछि नेकपाभित्र यसको चर्चा परिचर्चा शुरु भएको छ । कुनैबेला माधवकुमार नेपालका अति नजिक रहेका ओली उनलाई साइजमा ल्याउन लागेको विषयबारे कार्यकर्ता तहसम्म चर्चाको विषय बनेको हो ।
सचिवालय बैठकमा ओलीले अध्यक्ष प्रचण्डलाई पार्टी बैठक डाक्ने अधिकार दिए । यसअघि ओलीलाई मात्र यो अधिकार थियो । अध्यक्ष भएपनि प्रचण्ड उपाध्यक्षकै भूमिकामा थिए । ओलीले वामदेवलाई उपाध्यक्ष बनाउने तयारी गर्ने देखि वरियता तलमाथि गरेर चलाखीपूर्ण राजनीतिक व्यवहार देखाए । यसले नेकपाभित्रको शक्तिसंघर्षले नयाँ रुप लिएको छ ।