Logo

आइजीपी खनालले रवि लामिछानेलाई भेटेर संयमित हुन भनेपछि…



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल फिल्डमै खटिन्छन् । उनी दुरदराजका गाउँसम्मका प्रहरी कार्यालय पुगेर कामकारबाहीबारे जानकारी लिन्छन् । काठमाडौं बाहिर निस्कँदा होस् या फर्कंदा स्थलमार्गबाट फर्किएर प्रहरीको सुख दुःख बुझ्छन् । प्रहरीबाट जनताले सहजै सेवा पाइरहेको छन् छैनन् बुझ्छन् ।

यसपटक उनी चितवन पुगे । जिल्ला प्रहरी कार्यालय चितवनको नीरिक्षण भ्रमण गरेर हिरासतमा राखिएका एकजना अभियुक्तलाई भेटे । चर्चाको शिखरमा रहेका ती अभियुक्त थिए टेलिभिजन प्रस्तोता रवि लामिछाने । आइजीपी खनालले ६ भदौको साँझ लामिछानेसँग गरेको भेट अहिले चर्चामा छ ।

आइजीपी निकट स्रोतका अनुसार खनालले प्रहरीले कानुनबमोजिम कामकारबाही गर्ने स्पष्ट भनिदिए । कानुनभन्दा कोही माथि नहुने भन्दै कानुनको पालना गर्न र गराउने निकायले तलमाथि नगर्ने भने । उनले अनुसन्धानका क्रममा रहेको विषयलाई प्रभावित नपार्न समेत भने । आग्रह र सुझावको शैलीमा आइजीपी खनाल प्रस्तुत भएको बुझिएको छ ।

रवि लामिछाने पक्राउ घटनालाई राजनीतिक रङ्ग दिन खोजिएको सूचना सरकारले पाएपछि आइजीपी खनाल सक्रिय भएका हुन् । चितवनमा दिनहुँजसो भइरहेको प्रदर्शनमा राजनीतिक क्रियाकलाप समेत देखिनथालेको छ । नेकपा अध्यक्ष प्रचण्ड र उनकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका अलावा सरकारका अधिकारीहरुको नाम किटेर जथाभावी भन्न थालिएको छ । यसबारे रेनुले विज्ञप्ति नै जारी गरिन् ।

स्थिति अनियन्त्रित हुने खतरा बढेपछि आइजीपी खनाल चितवन भ्रमणका रहँदा रवि लामिछानेलाई समेत भेट्न पुगेका हुन् । उनले संयमित हुन आग्रह समेत गरे । आइजीपीको आग्रहलाई रविले सकारात्मक रुपमा लिएको बुझिएको छ ।

पत्रकार शालिग्राम पुडासैनीले चितवनको होटलमा आत्महत्या गरेपछि भेटिएको भिडियो रेकर्डका आधारमा रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको थियो । आत्महत्याको दुरुत्साहनको अभियोगमा उनीहरुमाथि पुडासैनी पत्नी सम्झना पुडासैनीले किटानी जाहेरी समेत दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्