काठमाण्डौ । चिनिएका र ठूला भनिएका गुन्डा नाइकेहरु राजनीतिको छाहारीमा ओत लागेसँगै उनीहरुकै संरक्षणमा गुन्डागर्दीमा नयाँ पुस्ता देखिन थालेको छ । निश्चित क्षेत्रका चोक र गल्लीहरु कब्जा गर्ने र त्यस क्षेत्रका व्यापारि व्यवसायीलाई धम्काउने र पैसा असुल्ने धन्दा उनीहरुले चलाउदै आएका छन् ।
कतिपयले त ठेक्का पट्टा, दुई नम्बरी धन्दा र तस्करहरुसँगको मिलेमहतोमा काम गरेको समेत पाइएको छ। यो शैलि पुराना र चिनिएका गुन्डाहरुकै हो ।
तिनै पुराना गुन्डा नाइकेको शैलीको सिको गरेर नयाँ पुस्ताले पनि गुन्दागर्दीको धन्दा चलाउन थालेको प्रहरी अनुसन्धानले देखाएको छ ।
यसरी गुन्डा गर्दी गर्नेमा केहि नयाँ ग्याङ बनाएर आएका छन् भने केही पुरानै गुन्डा नाइकेको संरक्षणमा चलेका छन् । यद्यपी पुराना गुन्डाहरु जसरी यीनिहरु सक्रिय भने हुन सकेका छैनन् । अधिकांशले टोले गुन्डाका रुपमा आफ्ना गतिविधि चलाउँदै आएका छन् । यीनिहरुमाथि उच्च निगरानी राखिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
एसएसपी सुवेदीका अनुसार काठमाडौंबाट मात्रै मासिक सरदर ४० देखि ५० जना व्यक्तिहरु गुन्दागर्दीको आरोपमा पक्राउ पर्ने गरेका छन् । यीमध्ये करिब आधा व्यक्तिमाथि आदलतमा मुद्दा चल्ने गरेको छ । पक्राउ परेका अधिकांश नयाँ पुस्ताका गुन्डाहरु हुन् । प्रहरीले यी नयाँ र पुराना गुन्डा नाइकेहरुसहित करिब ३ सयजनालाई निगरानीमा राखेको छ ।
निगरानीमा परेकाहरुबाट कुनै गतिविधि भएको पाइए तत्काल एक्सन लिने रणनीति बनाएको एसएसपी सुवेदीले बताए ।
झण्डै ५० लाख जनसंख्याका रहेको उपत्यकामा अपराधीको जालो पनि बाक्लो रहेको प्रहरीको निष्कर्ष छ । उपत्यकाको पार्किङदेखि ठेक्कापट्टा, होटल व्यवसायलगायत क्षेत्रमा धम्की र हप्ता असुली चर्को रहेको प्रहरी अनुसन्धानले देखाएको छ । खासगरि काठमाडौंको बौद्ध, गौशाला, महाराजगञ्ज, बानेश्वर, ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्गमा गुन्डाराज अघोषित रुपमा रहेको प्रहरी बताउँछ ।
यो गुन्डाराज तोड्न प्रहरीले बेला बेला अप्रेसन नै चलाउने गरेको छ। तर, पनि गुन्डागर्दी केहि कम भएपनि नियन्त्रण भने हुन सकेको पाइदैन् । पहुँचदार गुन्डाहरु पक्राउ परेको केहि दिनमै छुट्ने र फेरि आफ्ना गतिविधिमा सक्रिय हुने गरेका कारण प्रहरीको अभियान प्रभावकारी बनेको देखिदैन् । खासगरि राजनीतिक संरक्षणका कारण गुन्डाहरुको यो सक्रियता बढेको अपराधशास्त्री सुरज बस्नेत बताउँछन् ।
राजनीतिक संरक्षणकै कारण एउटै व्यक्ति एउटै प्रकृतिको मुद्दामा ११ पटकसम्म पक्राउ परेका छन् । पहुँचदारहरुको संरक्षणका कारण गुन्डाहरु पक्राउ पर्नु र छुटुनु सामान्य जस्तै बन्दै गएको तथ्यांकले देखाउँछ । पक्राउ परेकालाई उन्मुक्ति दिने गरिएकै कारण गुन्डाहरुको मनोबल बढ्दै गएको पाइन्छ ।
को कतिपटक पक्राउ परे ?
दीपक मनाङ्गे -११
तेजेन्द्र गुरुङ -८
चक्रे मिलन गुरुङ -७
रावणजित तामाङ -६
गणेश लामा -६
रोज राणा -५
दावा लामा -४
राजु गोर्खाली -४
लुमडी कार्की -३
‘बाघे’ शुक्रबहादुर लामा -३
साजन महर्जन -३
अभिषेक गिरी -२
यी त केहि प्रतिनिधि पात्र मात्रै हुन । अधिकांश गुन्डाहरु यसैगरि पटक पटक पक्राउ पर्छन् । तर, पहुँच र प्रभावका भरमा सहजै छुट्ने गरेका छन् । जसका कारण काठमाडौं डनमाण्डौं बन्ने खतरा झनै बढ्दै गएको छ ।