Logo

डेङ्गु संक्रमण फैलिएसँगै त्रास बढ्यो, नियन्त्रणको प्रयास असफल



काठमाण्डौ । तराईका जिल्लामा फाट्टफुट्ट देखिने डेंगु संक्रमण अहिले मुलुको धेरै भागाम फैलिएको छ । सरकारले डेंगु सार्ने लामखुट्टे नष्ट गर्न लामखुट्टेको खोजी तथा नष्ट गर्ने अभियानहरु सञ्चालन गर्दै आए पनि नियन्त्रणमा भने आउन सकेको छैन । बर्षेनि देखा पर्ने यस्ता रोग नियन्त्रणकै लागि सरकारले गरेको लगानि बालुवामा पनि हाले जस्तै भएको छ ।

तीन महिनादेखि फैलिएको डेंगु संक्रमण नियन्त्रणको प्रयास असफल बन्दै गएको छ । गत साउनदेखि यता मात्र ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् ।

वैशाखदेखि असारसम्म ४२ जिल्लाका ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ । नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो रोग नियन्त्रण हुन कठिन रहेको इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेकलाल कर्ण बताउँनुहुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक जसो १० देखि १५ जनाको हाराहारीमा यस्ता विरामीहरु आउने गर्दछन् । डेंगु संक्रमणको सिकार बनेका प्रदेश नम्बर ५ का सांसद आइपी खरेललेसमेत नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

उदयपुर, पाँचथर र मोरङलगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । काठमाडौंमा समेत केही दिन अघिदेखि डेंगु संक्रमित देखिन थालेका छन् । काठमाडौंमा हालसम्म १९ जनामा डेंगु संक्रमण भेटिएको इपिडिमिओलोजि तथा रोग नियन्त्रण महासाखाको तथ्यांक छ ।

अघिल्ला वर्षहरुमा वर्षा पछि मात्रै डेंगु देखिने गरे पनि हाल वर्षा अघि नै डेंगु रोग देखिएर लामो समयसम्म नियन्त्रणमा आउन नसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वासुदेव पाण्डे बताउँछन् ।

सरकारले जनस्वास्थ्यको सवालमा कहिल्यै पनि गम्भीर भएर यस्ता रोग नियन्त्रणको प्रयास गरेको पाइदैन । डेंगुको संक्रमण फैलिएको लामो समय भइसक्दा पनि नियन्त्रण हुनुको साटो फैलिदै जानुले जनतामा त्रास फैलिएको छ । यसबारे सरकार गम्भीर बन्नु आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्