Logo

भिडियो मृत्युकालीन घोषणा हो–हाेइन, यकिन छैनः अदालत



चितवन भदौ ११ । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेन्सिक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ । सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,’ उल्लेख छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशमा पुडासैनीले कति समय अगाडि भिडियो रेकर्ड गरे र कति समय पछाडि झुन्डिएर आत्महत्या गरेका थिए भन्ने समय यकिन नगरी मृत्युकालीन घोषणा हो वा होइन भनी यकिन गर्न नसकिएको उल्लेख छ । शव परीक्षण गर्ने महाराजगञ्ज शिक्षण अस्पतालका दुई चिकित्सक र भिडियोको फोरेन्सिक परीक्षण गर्ने नेपाल प्रहरीको केन्द्रीय प्रयोगशालाको फोरेन्सिक विशेषज्ञलाई विशेषज्ञ बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ । पुडासैनीको भिडियो सन्देश आफैँले नभई अरु कसैको सहयोगमा रेकर्ड गराएको हुन सक्ने आशंकासमत गरिएको छ । ‘पुडासैनीले बुबा, आमा र पत्नीलाई दुवै हात जोडेर पश्चाताप बोध गरी क्षमायाचन गरेको देखिएको सो भिडियो निज आफैँले एक्लै खिचेको भन्ने देखिएन,’ आदेशमा भनिएको छ । ‘ भिडियो रेकर्ड हुँदा कुनै व्यक्तिको सहयोगमा रेकर्ड गरेको अवस्था देखिन्छ ।’ घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्था भेटिएको भन्ने ब्यहोरा उल्लेख नभएको आदेशमा जनाइएको छ ।
नागरिक



प्रतिक्रिया दिनुहोस्