Logo

ज्ञानेन्द्र विदेशमा सक्रिय, थाले गोप्य भेटवार्ता



काठमाडौं, ११ भदौ । पारिवारिक भ्रमणमा बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । शाहको बैंकक बसाईलाई नेपालमा मात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुले बढो महत्वका साथ हेरिरहेका छन् ।

विशेष सूत्रले दिएको जानकारीअनुसार बैंकक बसाईको क्रममा पूर्वराजा शाहले भारत र चीन दुवै देशका विशेष एजेन्सीको प्रतिनिधिहरुसँग भेटवार्ता सुरु गरेका छन् । नेपालमा पछिल्लो समय राजावादीहरु सक्रिय भैरहेको अड्कलबाजी सुरु भएको अवस्थामा उनको बैंकक बसाई र विभिन्न एजेन्सीका प्रतिनिधिहरुसँगको भेटवार्तालाई पनि विशेष महत्वको रुपमा हेरिएको छ ।

२४ साउनको दिउँसो थाइ एयरवेजको विमानबाट शाह थाइल्यान्ड प्रस्थान गरेका थिए । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ । त्यहाँबाट शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा छ । नातिनीहरु बैंकमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवत्जावत् बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक सक्रियता बढाएको सूचना सत्तारुढ दलका नेताहरुसम्म पुगेको छ ।

पूर्वराजा शाह थाईल्याण्ड गएको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइराला पनि स-परिवार थाईल्याण्ड प्रस्थान गरेको समाचारले विशेष चर्चा पाएको थियो । कोइरालाले पूर्वराजा शाहसँग भेटवार्ता गरेको स्रोतको दाबी छ । तर, कोइरालाले भने यसबारेमा अहिलेसम्म कुनै खण्डनसमेत गरेका छैनन् । एक महिनाको अन्तरालमा पूर्वराजा शाह पुनः थाइल्यान्ड उडेका हुन् । यसअघि असारमा उनी बैंकक पुगेका थिए । File photo/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्