काठमाडौं । रेड पाण्डाको छाला झोलामा बोकेर महिला आउँछिन् । पसलमा प्रवेश गर्दा सलले मुख बेर्छिन् । ८ भाद्रको दिउँसो १ बजेर १६ मिनेटमा हात्तीगौडाको कपडा पसलमा महिला पस्छिन् । भित्र पसेपछि मुखमा बेरेको सल झिक्छिन् । पसलमा केही कपडा हेर्छिन् । पसलका धनी उपेन्द्र मल्लले कपडा झिकेर दिन्छन् । महिला दुईवटा पाइन्ट र टि सर्ट छानेर प्रयोगका लागि चेन्जिङ रुपमा पस्छिन् ।
चेन्जिङ रुपमा तीन मिनेट बस्छिन् । उनी कुनै कपडा नकिनी १ बजेर २२ मिनेटमा जान्छिन् । भित्र पस्दा भरिएको झोला बाहिर निस्कँदा रित्तो हुन्छ । मुखमा फेरि सल बेरेर हतार हतार भाग्छिन् । नीलो सल, गुलाबी सर्ट र नीलो पाइन्ट निस्केको केही समयपछि प्रहरी पसलमा आइपुग्छ ।
प्रहरीले पसल धनी उपेन्द्र मल्ल र भेटघाटका लागि गएका उनका साथी केशव गौतमसँग सोधपुछ गर्छ । मल्ललाई प्रहरीले बयानका लागि बोलाउँछ । फोन नियन्त्रणमा राख्छ । अनुसन्धानका क्रममा पसलधनी मल्लले भिडियो फुटेज उपलब्ध गराउँदाको सम्पूर्ण दृश्य देखाउँछन् । रिपोर्टर्स नेपाललाई प्राप्त दृश्य अनुसार महिलालाई पसलधनी उपेन्द्र मल्ललाई नियोजित रुपले फसाउन खोजेको देखिन्छ । यसबारे उनको परिवारसँग बुझ्दा आफूहरुको कसैसँग दुश्मनी नभएपनि किन यस्तो गरियो भनेर आश्चर्यमा परेको जानकारी आयो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालका अनुसार घटनाको अनुसन्धान भइरहेको र महिलाले रेड पाण्डाको छाला छाडेर गएको बताए । पसलमा बरामद भएको सामान र सामान छाड्नेबारे अनुसन्धान भइरहेको बताए । महानगरी प्रहरी प्रभाग बुढानिलकण्ठका डिएसपी भूपेन्द्र गिरीले पसलमा बरामद भएको सामानसँग सम्बन्धित व्यक्तिको खोजी भइरहेको बताए । सामान छाड्ने महिलाले नियोजित रुपमा पसलमा सामान छाड्नुको नियतबारे समेत छानविन हुने बताए ।