मोरङ । प्रहरीले पथरी शनिश्चरे नगरपालिकाह–१ बाट विराटनगरका विभिन्न स्थानमा डाँका गरेको अभियोगमा ११ भदौं दिउँसो ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार मधुवनी बस्नेहरु ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता तथा ४४ वर्षीय मो.मोतिउर रहमान, रौतहट गौर नगरपालिका–३ पोखरिया बस्नेहरु ४१ वर्षीय मो.मोहिज धुनियाँ तथा ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ बस्नेहरु ५२ वर्षीय सेख मो.सलिफ र ४६ वर्षीय शेख अलि असगरलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट बिआर ३२ पिए २८३६ नम्बरको स्करपियो गाडी, विभिन्न कम्पनीका मोबाइल ७ थान, नेपाली नगद १२ हजार ८ सय ५० रुपैयाँ, भारतीय नगद ११ हजार ४ सय १० रुपैयाँ, नेपाली सिमकार्ड १ थान, भारतीय सिमकार्ड ९ थान, फलाम काट्न प्रयोग हुने कटर मेसिन १ थान लगायतका सामानहरु बरामद गरेको छ ।
त्यस्तै, प्रहरीले उनीहरुलाई मोरङ विराटनगर महानगरपालिका–२ शनिहाटमा रहेको पन्चकन्या ट्रेड लिंकमा गत साउन २३ गते सटर फुटाई ५ लाख ९५ हजार रुपैयाँ, सोही महानगरपालिकामा रहेको गणनायक मार्केटिङ हाउस (किराना पसल) बाट सोही दिन सटर फुटाई ४ लाख रुपैयाँ, सोही महानगरपालिका–७ कदमाह कृषि सहकारी संस्था लिमिटेडमा भदौ १ गते सटर फुटाई ४ लाख ९५ हजार रुपैयाँ र विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट भदौ १० गते सटर फुटाई ६ लाख रुपैयाँ डाँका गरी लगेको घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ गरेको हो । अभियुक्तहरूले भारत सीतामढीमा विराटनगरमा डकैती गर्ने योजना बनाई नेपाल प्रवेश गरेको अनुसन्धानको क्रममा खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको बताएको छ ।