काठमाडौं, १३ भदौ । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् ।
प्रमुख शाक्यले महानगरको सडकलाई सहयोगापेक्षी सडक मानव मुक्त नगरी ‘स्मार्ट’ सिटीको अवधारणा सार्थक नहुने बताए । कामपाले निजी सार्वजनिक साझेदारीमार्फत नै विभिन्न योजना अघि सारेको उनले बताए ।
कामपाले साझासँगको सहकार्यमा बस सञ्चालन गरिरहेको र विभिन्न संस्थासँगको सहकार्यमा यो वर्ष १० एम्बुलेन्स हस्तान्तरण गरेको छ । उनले भने, “सहयोगापेक्षी सडक मानव हटाउनका लागि पनि साझेदारीमा नै अघि बढेका छौँ ।”
महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विकास भनेको जादुको छडी नभएको बताए । कामपाले आश्रमका लागि भाडाबापत रकम छुट्याएको र भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने उनले बताए।
अध्यक्ष अधिकारीले संस्थाले सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणाका लागि स्थानीय सरकारसँगको सहकार्यमा काम गरिरहेको बताए । संस्थाले विसं २०८२ सम्ममा शारीरिक तथा मानसिकरुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य सहयोगापेक्षी मानवरहित राष्ट्र घोषणा गर्न लागिपरेको बताए । उनले भने, “अहिले पनि हामीले सडकबाट उद्धार गरेकालाई सामाखुशी, बूढानीलकण्ठ र सातै प्रदेशमा रहेका आश्रममा आश्रय दिइरहेका छौँ ।”
संस्थाका १३ जिल्लामा १५ वटा मानव सेवा आश्रम रहेका छन् । आश्रमले सडकबाट उद्धार गरेर ६५० जनालाई परिवारसँग पुनःमिलन गराइसकेको छ भने हाल झण्डै ८०० जना सेवा लिइरहेका छन् । रासस