Logo

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने



काठमाडौं, १३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।

बैठकमा अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सह–इन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङ उपस्थित थिए । बैठकले एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट १५५ जना रहने निर्णय गरेको छ । बैठकले सङ्गठनको एकताको बाँकी काम सक्नका लागि तीन समितिसमेत गठन गरेको छ ।

अनेरास्ववियुका संयोजक ऐन महरको संयोजकत्वमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह रहेका छन् ।

यसैगरी विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङ संयोजक तथा सुनिता बराल र समिक वडाल सदस्य रहेका छन् । आर्थिक तथा कार्यालय व्यवस्थापन उपसमितिको संयोजक उत्तम अधिकारी तथा सदस्यमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् ।

बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिए । एकताको केन्द्रीय समितिको पहिलो बैठक भदौ ३१ र असोज १ गते बस्नेछ । एकता पछि अनेरास्ववियुले बिहीबारदेखि कार्यालय सञ्चालनमा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्