काठमाडौं, १३ भदौ । सत्तारुढ दल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले यो वर्षको संविधान दिवस आफ्नो पार्टीले नमनाउने स्पष्ट पारेका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपप्रधामन्त्री यादवले यस्तो जानकारी गराएका हुन् ।
यादवले संविधान जारी गर्दा तत्कालिन् सरकारले मधेशी जनतामाथि गोली बर्साएकोले आफ्नो पार्टीले संविधान दिवसलाई बहिष्कार गर्ने जनाएका हुन् । उनले संविधान अधुरो र अपूरो रहेकाले यसलाई संशोधन गर्न ढिलाई गर्न नहुने धारणा पनि राखे ।
आफूहरु सरकारमा सहभागी हुनुको मुख्य उद्देश्य भनेको नै संविधान संशोधन गराउनु रहेको सुनाउँदै उनले भने,‘हामीले त्यही भएर सरकारमा सहभागी हुने सम्झौता गरेका छौं । तर, अहिलेसम्म संविधान संशोधन प्रस्ताव अघि बढाईएको छैन् ।’ मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली उपचारबाट स्वदेश फर्किएलगत्तै भेटेर संविधान संशोधन प्रस्ताव अघि बढाउनको लागि अल्टिमेटम दिने जानकारी दिए ।