Logo

अहिले मुलुकको व्यवस्था डामाडोल भैरहेको छ, सबै दल मिल्नुको विकल्प छैन् : कर्ण (भिडियोसहित)



काठमाडौं, १४ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पछिल्लो समय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमाथि समस्या आएको सुनाए । उनले भने,‘मुलुकमा छिटो–छिटो परिवर्तन भएको छ । अहिले राजा आउ, देश बचाउ भनेको पनि सुनियो । यसलाई अन्यथा लिनुहुँदैन् ।’

मुलुकमा संघीयता आएको भएपनि आएकै दिनदेखि यो व्यवस्थाको विरोध गर्नेहरु आजपनि सक्रिय रहेको उनको भनाई छ । संघीयता कार्यान्वयन हुन नसके मुलुक फेरि जोखिममा पर्ने कर्णले खतरा औंल्याए । यद्धपी उनले संघीयता परिवर्तनशील विषय भएको पनि सुनाए ।
तर, संघीयतालाई सुरुवातमै लंगडो बनाईएको उनको गुनासो छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सिद्धान्ततः संघीयता धेरै राम्रो छ । तर, हामीले संविधानमा लेखेका कुरापनि पालना गरेनौं । अहिले प्रहरी पोशाकपनि केन्द्रबाट नै बनाउने भनिएको छ । यो भनेको ठूलो कमिशनको खेल हो । अहिलेपनि जनप्रतिनिधिहरुले काम गर्न नसकेको गुनासो छ ।’

मुलुकमा भ्रष्टाचार मौलाएकोप्रति आपत्ति जनाउँदै उनले सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने माग गरे । उनले भने,‘अख्तियारले अहिले गाउँपालिकाका साना तिना भुरा माछाहरु समातेको छ । अहिलेसम्म संघका एक जना मन्त्री पनि समात्न सकेको छैन् । ठूला माछा समात्यो भने आफ्नै जागिर जान्छ भन्ने डर अख्तियारका मान्छेलाई परेको छ ।’

कर्णले मुलुकको व्यवस्था नै अहिले डामाडोल भैरहेकोप्रति गुनासो पोखे । उनले भने,‘अहिले देशमा राष्ट्रिय नेता नै कोही छैन् । नेताहरुले आफ्नो क्षेत्रको मात्रै चिन्ता गर्छन् ।’ उनलेपनि दलहरु राष्ट्रिय मुद्दामा मिल्नुको विकल्प नभएको सुझाए । उनले भने,‘अहिले हामी धेरै पछि परिसक्यौं । जनताबाट आलोचनाको शिकार बनेका छौं । अब सोच्ने बेला आएको छ ।’

उनले आफ्नो पार्टीले यो वर्षको संविधान दिवसलाई पनि कालो दिवसको रुपमा मनाउने जानकारी दिए । उनले भने,‘हामीले अहिलेसम्म संविधान दिवस मनाएका छैनौं । सुरुदेखि नै कालो दिवसको रुपमा मनाएका छौं ।’ उनले समाजवादी पार्टीसँग एकताको लागि यसअघि नै प्रस्ताव गैसकेको सुनाए ।

उनले पार्टी एकता हुनु राम्रो कुरा भएको सुनाउँदै मिल्नुभन्दा अगाडि धेरै छलफल गर्नुपर्ने बताए । उनले भने,‘अहिले एकता गरेर पछाडि पछुताउने काम गर्नुहुँदैन् ।’ उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि पार्टी एकता गरेकोमा पछुताएको सुनाउँदै एकतापूर्व धेरै पटक सोच्नुपर्ने बताए । उनले भने,‘पार्टी एकताअघि हामीबीच ठोस रुपमा र सशक्त छलफल हुनुपर्छ ।’

कर्णले गौहत्या भएको विषयमा सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘यो विषयमा सरकारले जिम्मा लिनुपर्छ । घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्नुपर्छ ।’ त्यस्तै, उनले देशभरिका सरकारी अस्पतालहरु अस्तव्यस्त रहेको सुनाउँदै अस्पताल सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने,‘मन्त्रीज्यू, यहीँ हुनुहुन्छ, तपाईले औषधी र सरसफाईमा ध्यान दिनुहोस । सरकारी अस्पतालको हालत खराब छ ।’



प्रतिक्रिया दिनुहोस्