काठमाडौं, १६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली उपचारको लागि यतिवेला सिंगापुरमा छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली विदेशमा रहेको मौका छोपी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्र सक्रिय भएका छन् । बरिष्ठ नेता माधव कुमार नेपालसँग यो बीचमा अध्यक्ष प्रचण्डले पटक–पटक गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।
ओली विदेशमा रहँदा पार्टीबारेमा महत्वपूर्ण निर्णय लिनको लागि प्रचण्डलाई अधिकार दिईएअनुसार प्रचण्ड सक्रिय भएका हुन् । पार्टीका विभिन्न महत्वपूर्ण विभागका नेतृत्वमा ओलीले आफ्नो मान्छेलाई सेटल गराईसकेका छन् । स्कुल विभागको नेतृत्वमा उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याएका छन् ।
सुरुमा, यो विभागको नेतृत्वको लागि प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले दाबी गरेका थिए । प्रचण्डले पनि ओलीसँग श्रेष्ठलाई यो विभागको नेतृत्व सुम्पिनेगरि ओलीसँग अडान लिएका थिए । तर, ओली टसकोमस नभएपछि स्कुल विभागको नेतृत्वमा पोखरेलले बाजी मारे ।
नेकपा सचिवालयको बैठकले नेताहरुको वरियतासमेत हेरफेर गरेको थियो । वरियताको तेस्रो नम्बरमा रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई घटुवा गरेर उनको स्थानमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई ल्याएको थियो । यो सँगै नेता नेपालले चर्को विरोध र असन्तुष्टी पोखेका थिए । नेता नेपालको असन्तुष्टिलाई अध्यक्ष प्रचण्डले थमथमाएका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओली उपचारको लागि सिंगापुरमा रहेको बेला प्रचण्डले शक्ति सञ्चय गर्ने उद्देश्यले नेता नेपालसँग छलफल गरेको स्रोतको दाबी छ । पार्टीको एकता महाधिवेशन र सरकारको नेतृत्व गर्ने विषयलाई लक्षित गरेर प्रचण्डले नेता नेपालसँग छलफल गरेका हुन् ।