Logo

तिजका लागि पशुपतिमा पुगे ७ लाख भक्तजन (भिडियो)



काठमाण्डौ । हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाईएको छ । हिन्दुहरुको सबैभन्दा ठूलो धार्मिकस्थल मानिने पशुपतिनाथमा आज दिनभर दर्शनार्थीको घुइचो लाग्यो ।

रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरिरहेका थिए । तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ पशुपतिनाथ दर्शन गर्न पुगेका हिन्दु नारीहरुले यस वर्ष दर्शनका लागि पशुपति क्षेत्रका विशेष व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन ।

वृद्धा आमाहरुले पनि विगत वर्षहरुमा भन्दा यस वर्ष पशुपतिनाथ दर्शनका लागि सहज भएको प्रतिक्रिया दिएका छन । उनीहरुले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गरेर फलफूल र पानी खाएर तीजको ब्रत बसेका थिए ।

यता, पशुपति क्षेत्र विकास कोषले पनि बिहान ३ बजेबाटै दर्शनका व्यवस्था मिलाएको थियो । कोषले यस वर्ष करिव ७ लाखले पशुपतिनाथको दर्शन गरेको दावी गरेको छ ।

तीजको अवसर पारेर सुरक्षाको उचित प्रबन्ध गर्न पशुपतिनाथ क्षेत्रमा करिव ४ हजार सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । चार वटै सुरक्षा निकायबाट परिचालन गरिएका सुरक्षाकर्मीहरुले हरेक लाईनमा बसेर सुरक्षा दिईरहेका थिए ।

दर्शनार्थीहरुलाई सहज ढंगले पशुपतिनाथको दर्शन गराउन स्वयम सेवक पनि परिचालन गरिएको थियो भने स्वास्थ्य शिविर तथा खोज खवर शिविरको पनि व्यवस्था गरिएको थियो ।

विगत वर्षहरुमा भन्दा यस वर्ष तीजमा पशुपतिनाथमा दर्शनार्थी बढेको पशुपति क्षेत्र विकास कोषको दावी छ । तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्छन ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्