काठमाण्डौ । अतिथि देवो भव नेपालमा विदेशीलाई अतिथिको रूपमा सम्मान गर्ने चलन छ । त्यहीकारण विदेशीहरूलाई निगरानी गर्ने संयन्त्र समेत बनेको छैन । जसको फाइदा उठाउँदै अतिथिको भेषमा अपराध बढेको छ ।
पछिल्लो समय नेपालमा चिनियाँहरूको आगमन बढेसँगै अपराध पनि बढेको हो । चिनियाँ नागरिकलाई त सरकारले भिसा शुल्क लिने गरेको छैन् । जसले पर्यटकसँगै अपराध पनि भित्रन थालेको छ ।
बिहेका नाममा नेपाली युवतीलाई चीन तस्करीको आरोपमा चार चिनियाँलाई पक्राउ गरेको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे । साउन २० गते चार किलो सुनसहित पक्राउ परेका चिनियाँ हिरासतमै छानबिनमा छन् । पछिल्लो एक महिनामा फरक–फरक किसिमको अपराधमा ११ जना चिनियाँ पक्राउ परिसकेका छन् ।
पछिल्ला यी तीन घटनाले नेपालमा चिनियाँ नागरिकले अपराधको जालो फैलाउँदै गएको देखिन्छ । अध्यागमन विभागले विदेशी पर्यटकका गतिविधि निगरानीका लागि गत वर्ष कार्य्विधि बनाएको थियो ।
तर, कान्र्यान्वायन भने हुन सकेको छैन । विदेशी पर्यटकलाई निगरानी गर्ने संयन्त्र नहुँदा नै यसरी अपराधमा बढेको हुन सक्ने कतिपयको तर्क छ । विभिन्न प्रकृतिका अपराधमा चिनियाँको संलग्नता बढ्न थालेपछि नियन्त्रणका सुरक्षा रणनीति बनाइएको नेपाल प्रहरीको दावी छ ।
नेपाल बस्ने विदेशीहरू चिनियाँहरू पहिलो नम्बरमा छन् । त्यस्तै विभिन्न घटनामा संलग्न पनि चिनिया नागरिकनै रहेका छन् । धेरैजसो डलर, सुन, वन्यजन्तुका अंग, जडीबुटी आदि तस्करीमा संलग्न भएको पाइन्छ ।
यसै साता चिनिया नागरिकले नेपालका बैँकको एटिम ह्याक गरेर करोडौँ रकम झिकेपछि त तरङ्ग नै पैदा भयो । विज्ञहरुले यस्तो प्राविधिक अपराध कोही एक व्यक्तिमात्र सम्भव नभै जालो नै हुन सक्ने अनुमान गरेका छन् । चिनियाँ नगरिकको संलग्नता बढ्दै जानुमा पनि संगठित अपराध नै मुख्य कारण भएको अधिवक्ता तथा अपराधविज्ञ सुरज बस्नेतको टिप्पणी छ ।
१० वर्षअघिदेखि नै चिनियाँहरू नेपालबाट अवैध डलरको कारोबारमा संलग्न रहेको प्रहरी तथ्याङकमा देखिन्छ । १८ असोज २०६७ मा चिनियाँ नागरिक कोविन लि ४० हजार डलरसहित भक्तपुरमा पक्राउ परेका थिए ।
१० भदौ २०७२ मा विमानस्थलमा दुई करोड २५ लाख बराबरको विदेशी मुद्रासहित चिनिया नागरिक पक्राउ परेका थिए । १ माघ २०७३ मा २ लाख ६० हजार अमेरिकन डलर, एक लख १८ हजार यूरो र केही अष्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन चिनियाँलाई प्रहरीले नागढुंगामा पक्राउ गरेको थियो । ३२ जेठ २०७२ मा चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परेकी थिइन् ।
७ माघ २०७३ मा रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए । १३ असोज २०७४ मा चिनियाँ महिला यानकुन दुवानलाई ४६ हजार चार सय ८० युएस डलरसहित नेपालबाट भुटान जान खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
१२ कात्तिक २०७५ मा एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो । २३ वैशाख २०७५ मा ६ चिनियाँ डेढ केजी सुनसहित विमानस्थलमै पक्राउ परेको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरीको तथ्याङ हेर्ने हो भने चिनिया नागरिले नेपालमा अपराधका जालोनै फैलाएको देखिन्छ ।