Logo

यसरी भयो एउटै खाटमा सुतेका बाबुछोराको विभत्स हत्या



प्रकाश डोटेल, स्याङ्जा । जिल्लाको हरिनास गाँउपालिका ३ ललहीमा धारिलो हतियार प्रयोग गरि बाबु छोराको हत्या गरिएको छ । स्याङ्जाको साविक मग्याम चिसापानी गाविसका ३० वर्षिय चित्रबहादुर खड्का र उनका ४ बर्षिय छोरा रिजन खड्काको हत्या गरिएको हो ।

१७ भदौको बिहान पख अन्दाजी ४ बजेको समयमा मुखमा मास्क लगाएर आएको हतियारधारीले हत्या गरेको खड्काकी श्रीमती अनिता खड्काले जानकारी दिएकी छन् । घट्नापछि स्याङ्जाका प्रहरी प्रमुखको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको छ, भने कसले के उद्देश्यले हत्या ग¥यो भन्ने विषय हालसम्म अझै खुलेको छैन ।

घटनास्थलमै पुगेर थप अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले बताए । जिल्ला प्रहरी र गण्डकी प्रदेशबाट कुकुर सहित पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको भण्डारीले जानकारी दिए । हत्या गरिएका बाबु छोराको शवलाई पोष्टमार्टमको लागि गण्डकी अस्पताल पोखरा लगिएको छ । डिएसपी भण्डारीका अनुसार पोष्टमार्टमपछि कस्तो हतियार प्रयोग भएको हो भन्ने अनुमान लगाउन सकिने छ ।

प्रहरीले खड्काकी श्रीमती र मृतकका भाई लगायतलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए । घटना स्थलको पहिलो चरणको अनुसन्धान भईसकेकोले थप अनुसन्धानका लागि मृतकका परिवारलाई साथमै ल्याएको लम्सालले जनाए ।

यो अत्यन्तै रिसिवीका कारण घटना भएको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्याङ्जा प्रहरी प्रमुख लम्सालले भने, “गाउँ बाक्लो बस्ती रहेकाले पनि हत्यारालाई हत्या गर्न सजिलो भएको देखिन्छ ।” घटनाबारे तिब्र गतिमा अनुसन्धान थालेको लम्सालले बताए ।

घरको एउटै कोठामा फरक फरक खाटमा सुतेका श्रीमान श्रीमती मध्ये बाबु छोरा एउटा खाटमा र श्रीमती अर्को खाटमा सुतेका बेला घटना भएको देखिन्छ । हतियारले श्रीमान र छोरालाई हानी रहेको देखेपछि खड्काकी श्रीमतीले चिच्चाएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

झण्डै ६ वर्ष बैदेशिक रोजगारीबाट फर्किएका खड्का कुटानी पिसानीको मिल व्यवसाय गर्दै आएका उनी इमान्दार र लगनशिल व्यक्ति भएको स्थानीय सोमनाथ लम्सालले बताए । लम्सालका अनुसार खड्काले गाउँघरका छिमेकीसँग यसअघि झैझगडा समेत गरेका थिएनन् । तस्बिर ः खड्काको फेसबुकबाट 



प्रतिक्रिया दिनुहोस्