Logo

नेतृत्वमा पुग्न वामदेवको सिंगापुर दौडधुप



काठमाडौं, १८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रस्तावित उपाध्यक्ष वामदेव गौतम यतिवेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्नको लागि सिंगापुर प्रस्थान् गरेका छन् । पछिल्लो समय अध्यक्ष ओली र सचिवालय सदस्य गौतमबीच निकै घनिष्ठ सम्बन्ध छ ।

ओली र गौतमबीच नवौं महाधिवेशनदेखि आजसम्म ‘हेट एण्ड लभ’ सम्बन्ध रहँदै आएको छ । तत्कालिन् नेकपा एमालेको संगठनमा निकै राम्रो पकड जमाएका नेता गौतमलाई ओलीले सधैं आफ्नो अनुकुलमा उपयोग गरेको पनि चर्चा चल्दै आएको थियो । त्यसको प्रत्यक्ष असर उनीहरुबीच चुनावपछि बिग्रिएको सम्बन्धले प्रष्ट देखाउँछ । वामदेवले त आफूलाई अध्यक्ष ओलीले नै चुनाव हराएको सार्वजनिक आरोप लगाउँदै आएका थिए ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताका सूत्राधार रहेका नेता गौतम पार्टी एकतापछि ओलीकै कारण कर्नरमा पुगेका थिए । सरकार गठन भएको सुरुवातदेखि नै नेता गौतमले ओलीको कार्यशैलीलाई आलोचना गरेका थिए । तर, पार्टी एकताका विभिन्न कार्यभार पूरा गर्ने क्रममा विभिन्न विभागको नेतृत्व टुँगो लगाउने समयमा ओलीले एकाएक गौतमको मन जिते । उनलाई संगठन विभागको प्रमुख बनाए । जुन, पार्टीभित्र र बाहिर दुवैतिर चर्चाको विषय बन्यो ।

त्यसयता, ओली र नेता गौतमबीच लगातार बैठक तथा छलफल भएका छन् । प्रधानमन्त्री ओली उपचारको क्रममा साउनमा विदेश जाँदा र स्वदेश फर्किने बेलामा नेता गौतम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोड्न र रिसिभ गर्न आफैं पुगेका थिए । धेरैका लागि यो तस्विर नौलो र आश्चर्य बन्न पुगेको थियो ।

पार्टीभित्र ओलीले शीर्ष नेताहरुको पूर्ववर्ती समिकरण नै बदलिदिए । नेता माधवकुमार नेपालको वरियताक्रम खोस्नेदेखि झलनाथ खनाललाई बढुवा गर्नेसम्मका घट्नाले वामदेवप्रति ओलीको सद्भाव बुझिन सकिन्छ ।

पार्टीभित्र अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेदेखि महाधिवेशनपछि अध्यक्ष बन्नेसम्मका आफ्नो महत्वकांक्षा सार्वजनिक गरिसकेका छन् । प्रचण्डको अभिव्यक्तिलाई पार्टीभित्र नौलो रुपमा हेरिएको छैन् । शीर्ष नेताहरुले पनि अध्यक्षद्धय ओली र प्रचण्डबीच भएका आलोपालो सरकार सञ्चालन गर्ने सहमति पालना हुनुपर्नेमा जोड दिँदै आएका छन् । यसको पक्षमा प्रखर आवाज बोल्ने नेतामा नेता गौतमपनि चिनिन्छन् । तर, पछिल्लो समय ओलीले नेता गौतमलाई आफ्नो विश्वास पात्र बनाईसकेका छन् ।

नेता गौतम यतिवेला संसदमा छैनन् । तर, उनको लागि संसदीय यात्रा भने अझैपनि खुल्ला छ । स्वर्गीय रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा यही मंसिरमा उपनिर्वाचन हुँदैछ । धेरैले यही निर्वाचन क्षेत्रबाट वामदेवले पूनः संसदको यात्रा तय गर्ने अड्कलबाजी गरिएका छन् । तर, उनले यसबारेमा आफ्नो कुनै चासो र दाबी नरहेको स्पष्ट पारिसकेका छन् ।

नेता गौतम आज प्रधानमन्त्री ओलीलाई भेट्न उनी उपचारर्थ सिंगापुर उडेका छन् । हिजोमात्रै नेकपाका महासचिव विष्णु प्रसाद पौडेल सिंगापुर पुगिसकेका छन् । ओलीको उत्तराधिकारीको रुपमा नेता पौडेललाई लिईँदै आएको छ । यही विचमा नेता गौतमलाई पनि ओली आँफैंले बोलाउनुले कतै ओलीले यी दुवै नेतासँग भावी योजना र पार्टीको नेतृत्व लिनको लागि तयार रहन निर्देशन दिन लागेको त होईनन् भन्ने पनि अनुमान लगाउन थालिएको छ ।

पार्टीभित्र नेता गौतमलाई कमाण्ड लिनेगरि तयार रहन पनि ओलीले भित्री तयारी थालेका छन् । अहिले गौतम पार्टीको प्रस्तावित उपाध्यक्ष छन् । तत्कालै उनलाई उपाध्यक्ष बनाउने र संसदमा समेत ल्याउनेगरि ओलीले गौतमलाई काँस्कीबाट चुनाव लडाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्